






विराटनगर । राधाकृष्ण मन्दिर विराटनगर तीनपैनीमा मंगलबार(आज) साँझदेखि झुलन महोत्सव शुरु हुँदै छ ।
हरेक वर्ष जन्माष्टमी पूर्व मन्दिरमा विशेष रुपमा झुलन महोत्सव हुने गर्दछ । साँझ झुलन महोत्सव दर्शन गर्न विराटनगरबासीको ठूलो घुइँचो लाग्ने गर्दछ । मूल आयोजक समितिले यो पटक थप भव्य रुपमा रथयात्रा आयोजना गर्दै छ । मन्दिर संचालन तथा व्यवस्थापन समितिका सचिव कृष्ण कार्कीले आज साँझदेखि विशेष पूजा अर्चना गरी झुलन महोत्सवन शुरु हुने जानकारी दिएका छन् ।
श्रीकृष्ण जीको झुलन महोत्सवमा के हुन्छ ?
प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मावलम्बी मठ मन्दिरमा झुला महोत्सव धुमधामका शुरु हुँदै छ । साउन शुक्ल तृतीया तिथिबाट शुरु हुने झुलनोत्सव साउन पूर्णिमा अर्थात रक्षा बन्धनको दिनसम्म चल्छ । झुल्नोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा रहेको छ । मठमन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाईएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको छ ।
एकातर्फ भगवान राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन किर्तन र लोक कथाहरु सुनाईने गरिन्छ । साधु समाजमा यो पर्वको विशेष महत्व रहेको छ । मणिपर्वत विधिबाट शुरु भएको झुलनोत्सवको क्रममा प्रत्येक साँझ कजरी मलार लगायतको धार्मिक महत्व झल्किने गीत गाएर भगवानलाई झुला झुलाउने परम्परा रहेको छ । तर पछिल्लो समय झुलामा गाइने लोकगीत कजरी, मलार जस्तै झुलाको परम्परा समेत लोपोन्मुख अवस्थामा पुगेको छ ।
यद्यपि, साधु सन्त तथा भक्तजनहरुले भगवान राम जानकीले मनाएको झुला रासको सम्झनामा आफ्नो सुखका लागि यो परम्परालाई बचाएर राखेका छन् । जनकपुरधारममा समेत झुला उत्सव भव्य रुपमा मनाउने गरिन्छ ।
विशेष गरी वर्षा ऋतुमा दुई महिना पानी पर्छ । हरियाली हुन्छ । सबै नरनारीमा उत्साह हुन्छ । झुला महोत्सव विराटनगरमा पनि हुन्छ । झुला भनेको आनन्द लिनु हो । शरीर पनि झुल्छ । शरीरसँगै आत्मा पनि झुल्नुपर्छ भन्ने मान्यता छ ।
वृजधाममा श्रीकृष्ण जीले झुला महोत्सव शुरु गरेका थिए । वृक्षले वर्षातको एक थोपा पानी पाउँदा रमाए जस्तै झुलामा झुल्दा भक्तजन पनि रोमाञ्चित हुन्छन् । परमात्मासँग जीवात्माको अन्तरंग स्वरुपमा झुल्ने लीला नै झुला महोत्सव हो ।
यसले हृदयलाई प्रफुल्लित गर्दछ । आत्मालाई अखण्ड रोमाञ्चित बनाउनु झुलाको महोत्सव हो । हरिनाम संकृतनको साथमा प्रभुको अनुगत भएर झुल्ने परम्परा रहेको छ ।