






श्रीनगर । भारतीय सेनाले सोमबार ‘अपरेसन महादेव’ अन्तर्गत श्रीनगरको लिडवास क्षेत्रमा लुकेका तीन पाकिस्तानी आतंककारीलाई मारेको बताएको छ। सेनाको चिनार कोर्प्सले सामाजिक सञ्जाल एक्समा यो जानकारी दिएको हो ।
मारिनेमा पहलगाम आक्रमणका मुख्य आरोपी हाशिम मुसा पनि छन् । समाचार एजेन्सी पीटीआईका अनुसार सेनाका अधिकारीहरूले मारिएका आतंककारी हाशिम मुसा भएको पुष्टि गरेका छन् ।
सेनाका प्रवक्ताले अन्य आतंककारीहरूको पहिचान गर्ने प्रयास भइरहेको बताए । यद्यपि, बाँकी दुई आतंककारीमध्ये एक २०२४ को सोनमर्ग सुरुङ परियोजनामा भएको आक्रमणमा संलग्न रहेको बताइएको छ।
आतंककारीहरूबाट अमेरिकी एमफोर कार्बाइन, एके-४७, १७ राइफल र ग्रेनेडहरू बरामद गरिएको छ । केही अन्य शंकास्पद वस्तुहरू पनि बरामद गरिएको छ ।
सेनाका अनुसार बिहान ११ बजे गोप्य सूचना प्राप्त भएपछि लिडवासमा खोजी अभियान सुरु गरिएको थियो ।