Premier Cables
Premier Steel

अर्थ शेयर बजार

सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई हिरसातमा राख्न आदेश, यस्तो छ ठगीकाे कालाे विगत

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | राती ९:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई ठगी र विश्वासघातको आरोपमा काठमाडौँ प्रहरीले टोखाबाट पक्राउ गरेको छ।

करोडौ रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका अग्रवाललाई जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

बिज्ञापन

उनीमाथि २२ करोड रुपैयाँ ठगीको आरोप छ । पछिल्लो पटक दिनेशप्रसाद साहले ६ करोड ४५ लाख ठगीको उजुरी दिएपछि अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई सोमबार टोखाबाट नियन्त्रणमा लिएको हो। अग्रवालले विभिन्न कम्पनीको सेयर खरिद गरिदिने भन्दै रकम उठाएर सेयर नदिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अग्रवाल यसअघि पनि पटक–पटक विवादमा तानिँदै आएका छन्। उनले नेपाल फाइनान्सको सेयर पाँच हजार रुपैयाँसम्म पुग्ने भन्दै सर्वसाधारणलाई लगानी गर्न प्रेरित गरेका थिए। तर सेयर मूल्य २६ सय पुगेपछि ओरालो लागेर ७३० रुपैयाँसम्म झरेपछि धेरै लगानीकर्ताले आफूहरू ठगिएको गुनासो गरेका थिए।

त्यसैगरी, उनीमाथि सानो चुक्तापुँजी भएका कम्पनीको सेयर मूल्य कृत्रिम रूपमा बढाएर नयाँ लगानीकर्तालाई फसाउने आरोप पनि लाग्दै आएको छ। नेपाल धितोपत्र बोर्डले समेत उनीमाथि अध्ययन गरे पनि त्यसको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन।

दीपेन्द्र अग्रवालका टिकटक लाइभमार्फत सेयर किन्न उक्साइएका केही कम्पनीको सेयर मूल्य पछिल्लो समय लगातार घटेको छ। उनले हकप्रद सेयर ल्याउने बहानामा विकास बैंकहरूको सेयर किन्न सुझाउँदै आएका थिए।

उनले लाइभमार्फत नामै उल्लेख गर्दै सुझाएका कर्पाेरेट डेभलपमेन्ट, ग्रिन डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट, सप्तकोसी डेभलपमेन्ट र सिन्धु विकास बैंकको सेयरमूल्य क्रमशः ५४ देखि २३४ रुपैयाँसम्म घटेको छ। तीमध्ये ग्रीन र सप्तकोसी डेभलपमेन्टको सेयर १० प्रतिशतले ओरालो लागेको छ।

उनमाथि सामाजिक सञ्जालमार्फत साना लगानीकर्तालाई प्रभावमा पार्ने र मूल्य बढेपछि आफैंले खरिद–बिक्री गरी मुनाफा उठाउने आरोप समेत लाग्दै आएको छ।

उनी फेसबुक, टिकटक, क्लबहाउसजस्ता माध्यमबाट नियमित रुपमा लाइभ प्रसारण गरी सेयर सुझाउने गर्थे।

यसअघि पनि सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) सँग अग्रवालको विवाद भएको थियो। सिप्लाले ०८१ असोजमा सीआईबीमा १६ करोड रुपैयाँ नदिएको आरोपसहित उजुरी दिएको थियो, जुन विवाद दुवै पक्षको सहभागितामा समाधान गरिएको थियो।

अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) खाता सञ्चालन गरी आफैं सेयर किनेको देखाउने, मूल्य बढेपछि बेच्नेजस्ता अनियमित कारोबार गरेको आरोप पनि प्रहरी स्रोतको दाबी छ।

यसअघि पनि उनलाई धितोपत्र बोर्ड र बीमा प्राधिकरणले गोल्डम्यान इन्भेष्टमेन्टमार्फत ठगी गरेको अभियोगमा कारबाही गरेको थियो। २०७८ चैतमा सीआईबीलाई पत्राचार गरी अनुसन्धान गर्न बोर्डले आग्रह गरेपछि उनी भारततर्फ फरार भएका थिए। प्रहरी स्रोतका अनुसार उनलाई फरार सूचीमा राखेर खोजी गर्ने क्रममै सोमबार पक्राउ गरिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka