Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

अन्तराष्ट्रिय

बिहारमा ‘बोक्सी’ आराेपमा पाँच जनालाइ जिउँदै जलाएर मारिएकाे दर्दनाक घटना के हाे ?

Calendar शुक्रबार, असार २७, २०८२  | राती ९:३१ बजे

भारत । भारतमा बिहार राज्यको पूर्णियामा ‘बोक्सी’ को आरोप लगाइ एकै परिवारका तीन महिला र दुई पुरुषलाई जिउँदै जलाएर मारिएको घटना सार्वजनिक भएपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ।

घटना पूर्णियाको राज रानीगञ्ज पञ्चायतको टेटगामा भन्ने स्थानमा भएको थियो। मङ्गलवार दिउँसो बीबीसीको टोली त्यहाँ पुग्दा पूरै बस्ती सुनसान थियो।

बिज्ञापन

टेटगामा टोलमा छिर्ने बित्तिकै कच्ची-पक्की सडकको दायाँतर्फ एक खाली ठाउँमा मिडियाका मान्छे र यूट्यूबरहरू त्यहाँको अवस्था क्यामरा र मोबाइल फोनबाट खिचिरहेका थिए।

यस स्थानमा देखिने आगोले जलेको रातो सारी र मानव कपालको अवशेषले आइतवार ६ जुलाईको रात र सोमवार बिहान सबेरैको समयमा यो टोलमा भएको अमानवीय कार्यको प्रमाण पेस गरिरहेका थिए।

टोलमा प्रहरीको एक गाडी र दुई प्रहरी पनि देखिन्थे जसले त्यहाँ आउने जाने मानिसहरूको निगरानी गरिरहेका थिए। करिब ६० घर भएको यो टोलमा अहिले केबल मृतक परिवारका आफन्तजन मात्र बसिरहेका छन् बाँकी टोलवासी सबै फरार छन्।

किनभने पूरै टोलमाथि नै पाँचजना मानिसलाई कुटपिट गरेको र जलाएर मारेको भनेर प्रहरीमा उजुरी, एफआईआर दर्ता भएको छ।

यो घटना भएपछिको तीन दिन बितिसक्दा पनि यो समाचार तयार पारुन्जेल जम्मा ३ गिरफ्तारी भएका छन् जबकि २३ जनाको नाम तोकेर र नाम नतोकीकनै १५०-२०० जना विरुद्ध उजुरी दर्ता भएको छ।

यो घटनामा अन्धविश्वासको कारण बाहेक पनि उठेको प्रश्न के हो भने पूर्णिया जिल्ला मुख्यालयबाट १२ किलोमिटर मात्र पर रहेको यो टोलमा रातभर पाँचजना मानिसमाथि कुटपिट भयो तिनीहरूलाई जलाइयो, तर प्रहरीसम्म कुनै खबर नै पुग्न सकेन।

यस विषयमा पूर्णियाका जिल्लाधिकारी अंशुल कुमार र पुलिस अधीक्षक स्वीटी सहरावत दुवैले बीबीसीसँग कुराकानी गर्न अस्वीकार गरे।
बोक्सीको’ को आरोपमा गत आइतवार पूर्णियाका ७५ वर्षीया कातो, ६५ वर्षीय बाबु लाल उरांव, ६० वर्षकी सीता देवी, २५ वर्षका मंजीत उरांव र २२ वर्षकी रेखा देवीलाई जिउँदै जलाएर मारिएको भन्ने विवरणहरू आएका छन्।

बाबु लाल उरांव र सीता देवी पति-पत्नी थिए जबकि कातो बाबु लाल उरांवकी आमा थिइन्। मंजीत उरांव बाबु लाल उरांवका छोरा थिए, र रेखा देवी मंजीतकी पत्नी थिइन्। यी सबै एकै परिवारका सदस्य थिए र एउटै घरमा बस्थे।

खासमा कातोका पाँच छोरा थिए – जगदीश उरांव, बाबु लाल उरांव, खूब लाल उरांव, अर्जुन उरांव र जितेन्द्र उरांव। बाबु लाल उरांवका अन्य भाइ र तिनका परिवार टोलमा अलग-अलग घरमा बस्छन्।

कातो, आफ्ना छोरा-बुहारी बाबु लाल उरांव र सीता देवीसँग बस्थिन्। बाबु लाल-सीता देवीका पनि चार छोरा छन्। तर उनीहरू मंजीत उरांव र एक नाबालिग छोराका साथमा बस्थे। बाँकी दुई छोरा प्रवासी मजदुर हुन्। कातोका पतिको मृत्यु केही वर्ष पहिले भएको थियो।

यस घटनाका पछाडिको कारण केही दिन पहिले त्यहाँ एक बच्चाको मृत्यु भएको विषयसँग सम्बन्धित रहेको थाहा भएको छ।

केही दिन पहिले टोलका रामदेव उरांव नामका एक व्यक्तिका बच्चाको मृत्यु भएको थियो। बच्चाको मृत्युपछि रामदेव उरांवको भाञ्जाको स्वास्थ्य बिग्र्‍यो। तिनलाई निको परिदिनु पर्यो भन्ने दबाव बाबु लाल उरांवको परिवारमाथि परिरहेको थियो। टोलका मानिसले बाबु लाल उरांवका परिवार खासगरी उनकी आमा कातो र पत्नी सीता देवीले “जादु-टुना गरेको” शङ्का गरेका थिए।

विवरणहरूका अनुसार यसै विषयलाई लिएर आइतवार अबेर राति सबभनदा पहिले बाबु लाल उरांवको घरभन्दा केही पर रहेको बाँस घारीमा टोल र आसपास बस्ने उरांव जनजातिका मानिसहरूको पञ्चायत बैठक बसेको थियो। यसै पञ्चायत भेलापछि नै सयौँको सङ्ख्यामा मानिसहरूले बाबु लाल उरांवको घरमाथि हतियार, लट्ठी-डन्डा लिएर हमला गरे।

घटनाबारे बाबु लाल उरांवका भाइ अर्जुन उरांवले बीबीसीलाई बताएः “आइतवार हामी पूर्णियाबाट मजदुरी गरेर साइकलबाट घर फर्कँदा बाबु लालको घर नजिकै सयौँ महिला पुरुष जम्मा भएका थिए। उनीहरूको साथमा धारिलो हतियार र लट्ठी डन्डाहरू थिए। सबैले तिनिहरूलाई पिटिरहेका थिए र बारम्बार ‘बोक्सी’ भनिरहेका थिए। हामीले त्यसो नगर्न भनेर रोक्न खोज्यौँ उल्टै तिनीहरूले हामीलाई टाढै बस नत्र तिमिहरूलाई पनि मारिदिन्छौँ भने।”

“उनीहरूले म र मेरा अन्य भाइका परिवारलाई हतियारको बलमा बन्धक बनाए। उनीहरूले मेरी आमा र भाइलाई कुटपिट गरेपछि घरदेखि केही टाढा लगेर पेट्रोल छर्केर आगो लगाइदिए। बाँकी सदस्यलाई पनि त्यसै गरे।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027