






काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवले विवादास्पद अभिव्यक्ति दिएका छन्। नेपाल प्रहरीको खोजी सूचीमा रहेका यादवले सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देश जारी गर्दै मधेस अहिले नभए पनि भविष्यमा नेपालबाट अलग हुने दाबी गरेका हुन्।
सर्लाहीका प्रमुख जिल्ला प्रहरी अधिकारी (एसपी) योगेन्द्रकुमार खड्कालाई अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि यादव प्रहरीको निगरानीमा परेका थिए। त्यसपछि उनी फरार भएका थिए भने, जिल्ला अदालतको आदेशपछि उनको खोजी तीव्र बनाइएको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन्। प्रहरीका अनुसार यादव भारततर्फ भागिसकेका छन्। यद्यपि, उनले आइतबार सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै आफू फरार नभएको र छोराको उपचारका लागि सीमापार पुगेको दाबी गरेका थिए।
सोमबार यादवले अर्को भिडियो सन्देश जारी गर्दै बिहारका जनप्रतिनिधि, प्रहरी अधिकारीहरू, राजनीतिक दलहरू र नागरिकलाई अपिल गर्दै आफूहरू आन्दोलनकारी भएको र अपराधी नभएको जिकिर गरेका छन्। उनले सर्लाहीका एसपी र डीएसपीमाथि ‘गुण्डागर्दी’ गरेको आरोप पनि लगाएका छन्। यादवले भारतमा नेपाली आन्दोलनकारीहरूलाई सधैं शरण दिइएको उल्लेख गर्दै आफूहरूलाई पनि भारतको समर्थन आवश्यक रहेको बताएका छन्।
उनले भारतको प्रशासन र प्रहरीले नेपाली एसपीहरूको भनाइमा कुनै पनि कारबाही नगर्न आग्रह गरेका छन्। यादवले सिधै सीतामढीका एसपीसहित सबै वरिष्ठ प्रहरी अधिकारीहरूलाई आग्रह गर्दै आफ्नो परिवारलाई कुनै समस्या नदिनु पनि भनेका छन्।
भिडियोमा यादवले आफू बाँचे पनि नभए पनि मधेस एक दिन नेपालबाट अलग हुने दाबी गरेका छन्। उनले राज्यद्वारा मधेसमाथि दमन र शोषण भइरहेको भन्दै त्यसका विरुद्ध विद्रोह हुन सक्ने सम्भावना रहेको चेतावनीसमेत दिएका छन्। सीके राउतको ‘स्वराज’ अभियानलाई स्मरण गर्दै यादवले मधेस अलग राष्ट्र बन्नु सही मार्ग रहेको टिप्पणी गरेका छन्।
उनका अनुसार, अब आउने पुस्ताले जातीय विभेद र उत्पीडनका विरुद्ध संघर्ष जारी राख्नेछ र त्यसले मधेस अलगावको अन्तिम लक्ष्यमा पुर्याउने विश्वास पनि व्यक्त गरेका छन्।