






बिर्तामोड । मेची प्रदेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेण्डेन्टमा वरिष्ठ रेडियोलोजिष्ट डा.सञ्जयकुमार गुप्ता नियुक्त भएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामबावु खड्काको ११ औं तहमा बढुवा भएसंगै वरिष्ठ कन्सल्टेन्ट (दशौं तह) डा. गुप्तालाई मेसुको जिम्मेवारी प्रदान गरिएको हो ।
प्रदेश निजामति सेवा ऐन २०७९ को दफा २३ को उपदफा ६ बमोजिम डा गुप्तालाई कोशी प्रदेश सरकार मुख्यमन्त्री कार्यालय विराटनगरले अस्पतालको मेसुको जिम्वेवारी दिएको हो । तत्कालीन मेची अञ्चल अस्पतालमा २०६८ साल असोज १ गतेबाट रेडियोलोजिष्टको जिम्वेवारी सम्हाल्दै आएका उनी डा. खड्काको गत वैशाखमा एघारौँ तहमा बढुवा भएसंगै निमित्त मेसु थिए ।
२०६८ सालमा मेची अञ्चल अस्पताल विकास समितिबाट मेडिकल अफिसरका रुपमा अस्पतालमा नियुक्त भएका उनी २०७३ सालदेखि वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्टको नऔं तहमा स्थायी भएका थिए ।
२०७५ साल असोज १२ गतेदेखि वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्टको दश औं तहमा वढुवा भएका उनले भारतको मणिपाल मेडिकल कलेजबाट सन २०११ मा रेडियोलोजिष्टमा एमडी गरेका थिए ।
मेची प्रादेशिक अस्पतालमा काम गर्नुअघि उनले मेडिकेयर अस्पताल र एनएमसी मेडिकल कलेजमा समेत काम गरेका थिए ।