






काठमाडौं । मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुनचाँदी व्यवसायीलाई हनी ट्र्यापमा पार्दै रकम बार्गेनिङ गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्गा बस्ने २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोक घर भएका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी छन् ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक लाभको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।
पक्राउ परेकी युवती मरियम पोखराकै एक सुनचाँदी पसलमा काम गर्थिन् । आफैंले काम गर्ने पसलका सञ्चालकलाई हनी ट्र्याप शैलीमा फसाएर रकम लिने उदेश्यले थप दुई युवकलाई पोखरा बोलाएको पाइएको डीएसपी बस्नेतले बताए ।
पक्राउ परेका मध्य देव मेरियमको प्रेमी रहेको प्रहरीले बताएको छ । दुई युवक पोखरा पुगेपछि सुनचाँदी पसल सञ्चालककी श्रीमतीलाई उनीहरूले धम्क्याउँदै रकम माग गरेको पाइएको छ । श्रीमानले मेरियमलाई बलात्कार गरेको र जीन्दगीभरलाई पुग्ने सम्पत्ति नदिए मुद्दा मामिला गरेर सडाउने धम्की दिएको पाइएको एक अधिकृतले बताए ।
उक्त अडियो समेत प्रहरीले फेला पारेको छ । हनी ट्रयाप शैलीमा रकम असुल्न खोजेको भन्ने सूचना पाएपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।