






विराटनगर। कोसी प्रदेश सरकारले प्राकृतिक विपद्बबाट हुने क्षति न्यूनीकरण गर्नका विपद् बीमा र बस्ती स्थान्तरण कार्य शुरु गरेको छ ।
सोमबार बसेको प्रदेश विपद् परिषद्को बैठकले प्रदेशमा क्षति न्यूनीकरण गर्न बस्ती स्थान्तरण गर्ने निर्णय गरेको हो । यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विगतको तुलनामा यस वर्ष मनसुन छिटै सुरु भएको छ ।
ढिलो समयसम्म रहने भएकोले धेरै क्षति हुन नदिन आवश्यक तयारी गरिएको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताएका छन् । कार्कीको अध्यक्षतामा बसेको बैठकले चा.लु. आर्थिक वर्षमा राहत सामग्री र रकम गरेर वितरण गरिएको ७५ लाख ८० हजार बराबरको खर्च समेत अनुमोदन गरेको छ।
बैठकले प्रदेश विपद व्यवस्थापन रणनीतिक कार्य योजना २०८२/८७ र मनसुन पूर्व तयारी प्रतिकार्य प्रदेश कार्ययोजना २०८२ लाई पारित गरेको छ। बैठकमा मुख्यमन्त्री कार्कीले विपद बीमा र स्थान्तरणको विषयलाई प्राथमिकताका साथ काम गर्न निर्देशन दिए । विभिन्न संघसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिए ।
बजेट र कार्यक्षमता हेरेर विपदको काममा तत्कालै जुट्न उहाँले आग्रह गरे । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत वर्ष आगलागी बाढीपहिरो चट्याङ र विस्फोटमा परी मृत्यु ३४ जनालाई राहत रकम वितरण गरिएको छ।
त्यस्तै निजी आवास बनाउन ८६ लाख ४० हजार सहयोग गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिए । कोसी प्रदेशमा तत्कालै स्थानान्तरण गर्नुपर्ने करिब ४ हजार १५१ परिवारहरू रहेका छन्।