






विराटनगर । सुनसरीको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले जिम्मेवारीमा खटिएका प्रहरीलाई तथानाम गालीगलौज गरेका छन् । उनले प्रहरीलाई गाली गरेको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल छ । यसैलाई आधार बनाएर प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी थालेको छ ।
सुरक्षामा खटिएका प्रहरीलाई पालिका अध्यक्ष अन्सारीले अपशब्द प्रयोग गरेका थिए । उनले मनपरी बोलेका शब्दहरु भिडियोमा हेर्न र सुन्न सकिन्छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले यसबारे अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
गाउँपालिका अध्यक्ष अन्सारीले मनपरी बोल्दै प्रहरीको मनोबल गिराएको भन्दै सुनसरी प्रहरीलाई अनुसन्धान गरी कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले छानबिनको निर्देशन दिइएको बताएका छन् ।
‘गाउँपालिकाको अध्यक्ष जस्तो व्यक्तिले सुरक्षामा खटिएको प्रहरीमाथि मनपरी तरिकाले अपशब्द बोलेको भिडियो सामाजिक सञ्जालमा देखिएको र त्यसबारे गम्भीर रुपमा अनुसन्धान गर्न निर्देशन दिएको कार्कीले बताए ।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले तीन वटा विषयमा अनुसन्धान सुरु भएको बताए । ‘ड्युटीमा रहेका असई र ट्राफिकमाथि अन्सारीले गालीगलौज गरेका छन् ।
सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको, राष्ट्र सेवक कर्मचारीलाई कर्तव्य निर्वाहको क्रममा बाधा अवरोध गरेको, ब्यारिकेट फाल्न लागेर अपराधिक उपद्रव प्रदर्शनी गरेको एसपी तिम्सिनाले बताएका छन् । अब प्रहरी यिनै तीन विषयमा अनुन्धान अघि बढाउने बताइएको छ ।
भएको के हो ?
जेठ २३ गते को १ त ४९४३ नम्बरको बाँस राखेको ट्र्याक्टर ओभर लोड पाइएको थियो । ट्राफिक प्रहरीका असई रामराजा यादवले त्यसलाई रोक्छन् । जरिबाना तिराउँछन् । ट्र्याक्टरका चालक गाउँपालिकाका अध्यक्ष अन्सारीका आफन्त रहेछ छन् । चालकले फोन गर्छन र अध्यक्ष अन्सारीलाई बोलाउँछन् । उनले मेरो पालिकाका जनतालाई दुःख दिने भन्दै जथाभावी गाली गर्छन ।
अन्सारीले प्रहरीले घुस खाएको आरोप लगाउँछन् । आफूले गरेको फोन पनि नउठाएको भनेर गाली गर्छन् । केही दिनअघि दूध बोकेको मोटरसाइकललाई पनि ओभरलोडमा पाँच सयको चिट काटिएको थियो। त्यो मोटरसाइकल रोकेका कारण दूध फाटेको पनि अन्सारीले आरोप लगाएका छन् ।
मनपरी गाली गरेको भिडियो भाइरल भएर आलोचना बढेपछि पालिका अध्यक्ष अन्सारीले मैले कुनै पनि अपशब्द नबोलेको दाबी गरेका छन्।