विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन र सत्ता साझेदारीका लागि नेकपा एमाले र नेकपा बीच भएको छलफल मन्त्रालयको सङ्ख्यामा सहमति जुट्न नसक्दा निष्कर्षविहीन बनेको छ।
नेकपा कोशी प्रदेशका इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईका अनुसार दुई दलबीच मन्त्रालयको सङ्ख्यामा कुरा नमिल्दा बैठक निष्कर्षविहीन टुङ्गिएको हो। छलफलका क्रममा नेकपाले सरकारमा चार वटा मन्त्रालय पाउनुपर्ने माग गरेको छ भने एमालेले तीन वटा मात्र मन्त्रालय दिन सकिने अडान राखेको छ।
एमाले नेता शेरधन राईको जहाजको समय भएकाले पनि थप छलफल हुन नसकेको र भोलि हिक्मत कार्की र इन्द्रबहादुर आङ्बो बसेर यसबारे अन्तिम टुङ्गो लगाउने सहमति भएको छ।
मन्त्रालयको सङ्ख्यामा सहमति नजुटे पनि अन्य कतिपय विषयमा भने दुई दलबीच सहमति बनेको छ। साझा न्यूनतम नीति तथा कार्यक्रम बनाउनका लागि नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा कार्यदल बनाउने र हालै ल्याइएको बजेटलाई पुनरावलोकन गर्ने विषयमा दुवै दल सहमत भएका छन्।
त्यस्तै अड्किएका ऐन कानुनहरूलाई आपसी सहमतिमा पारित गर्ने र सरकारलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल सकारात्मक रहेको बताइएको छ।
