Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

फ्रान्सबाट सुरु भएको महँगीविरुद्धको आन्दोलन युरोपका ३१ देशमा फैलियो

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक २४, २०८३  | अपराह्न १२:५५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । फ्रान्समा विद्यालयको कमजोर पूर्वाधार र शिक्षा क्षेत्रको समस्यालाई लिएर सुरु भएको विद्यार्थी आन्दोलन अहिले व्यापक आर्थिक तथा सामाजिक असन्तुष्टिको रूप लिँदै युरोपका विभिन्न देशमा फैलिएको छ।

जीवनयापनको बढ्दो लागत, न्यून ज्याला, आवास संकट र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध युरोपभर प्रदर्शन चर्किएका छन्।

विज्ञापन

करिब दुई महिनाअघि फ्रान्सका उच्च माध्यमिक तहका विद्यार्थीले सुरु गरेको आन्दोलन अझै मत्थर भएको छैन। सुरुमा जीर्ण विद्यालय भवन, कक्षाकोठामा अत्यधिक विद्यार्थीको चाप र शिक्षक अभावविरुद्ध केन्द्रित आन्दोलन अहिले सर्वसाधारणका दैनिक आर्थिक समस्यासँग जोडिएको छ।

अल जजिराले सार्वजनिक गरेको विवरणअनुसार सेप्टेम्बरको मध्यदेखि अक्टोबर ३० सम्म युरोपका ३१ देशमा एक हजार ७०० भन्दा बढी विरोध प्रदर्शन तथा दंगाका घटना भएका छन्। यी प्रदर्शनमा मुख्य रूपमा महँगी, न्यून पारिश्रमिक, आवासको अभाव र सार्वजनिक सेवासम्बन्धी असन्तुष्टि व्यक्त गरिएको छ।

फ्रान्समा आन्दोलन थप चर्कियो

फ्रान्समा आन्दोलनको प्रभाव सबैभन्दा बढी देखिएको छ। गृह मन्त्रालयका अनुसार शनिबार पेरिसमा मात्रै ४६ हजारसहित देशभर एक लाख ४६ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए। यद्यपि ट्रेड युनियनहरूले भने पेरिसमा ७५ हजार र देशभर दुई लाख ५० हजार मानिस सडकमा उत्रिएको दाबी गरेका छन्।

पछिल्ला साताको तुलनामा प्रदर्शनकारीको संख्या केही घटे पनि विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन्। पेरिसमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो। फ्रान्सको तेस्रो ठूलो सहर लियोनमा पनि सडक अवरुद्ध गर्ने प्रदर्शनकारीमाथि अश्रुग्यास प्रयोग गरिएको थियो।

प्रदर्शन नियन्त्रणका लागि करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। यसअघि ट्रेड युनियनको आयोजनामा भएको एउटा र्‍यालीमा करिब पाँच लाख ७५ हजार मानिस सहभागी भएको अनुमान गरिएको थियो।

सेप्टेम्बर १५ देखि अक्टोबर ३० सम्म फ्रान्समा १०० वा सोभन्दा बढी मानिस सहभागी भएका एक हजार २०० भन्दा बढी प्रदर्शन तथा दंगाका घटना अभिलेख गरिएको आर्म्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डेटा (एसीएलईडी) को तथ्यांकले देखाएको छ।

सामान्य अवस्थाभन्दा तीन गुणा बढी प्रदर्शन

एसीएलईडीकी प्रमुख कार्यकारी अधिकृत क्लियोनाह रालेघका अनुसार फ्रान्समा पछिल्ला पाँच वर्षमा दैनिक औसत २०.५ वटा प्रदर्शन अभिलेख भएका थिए। तर, अहिले जारी आन्दोलनका क्रममा यो संख्या बढेर दैनिक औसत ६६ पुगेको छ।

उनका अनुसार सामान्यतया विरोध प्रदर्शनका चक्र करिब २० दिनसम्म चल्ने गर्छन् भने ठूला आन्दोलन ३६ दिनसम्म लम्बिन सक्छन्। तर फ्रान्सको पछिल्लो आन्दोलन ४५ दिन पार गर्दासमेत जारी रहेको छ।

आन्दोलनको अर्को उल्लेखनीय पक्ष हिंसात्मक घटनामा भएको वृद्धि हो। विगतका आन्दोलनमा औसत १.९ प्रतिशत घटनालाई दंगाका रूपमा वर्गीकरण गरिएकोमा अहिले यो अनुपात बढेर २४.२ प्रतिशत पुगेको रालेघले बताएकी छन्।

यसअघि सन् २०२३ मा नाहेल मर्जुकको मृत्युपछि भएको अशान्तिमा मात्रै योभन्दा बढी अनुपात देखिएको थियो।

प्रहरीको बल प्रयोगप्रति अन्तर्राष्ट्रिय चिन्ता

प्रदर्शन नियन्त्रणका क्रममा फ्रान्सेली प्रहरीले अपनाएको शैलीप्रति मानव अधिकारकर्मी र अन्तर्राष्ट्रिय निकायले प्रश्न उठाएका छन्।

अक्टोबर २८ मा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्बाट म्यान्डेट प्राप्त चार विज्ञले विद्यार्थी प्रदर्शन नियन्त्रण गर्ने क्रममा फ्रान्सेली अधिकारीहरूले अत्यधिक बल प्रयोग गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए।

उनीहरूले हजारौँ मानिसलाई प्रभावित पार्ने गरी गरिएको गिरफ्तारी र हिरासतको प्रक्रिया असमान देखिएको उल्लेख गर्दै विशेषगरी नाबालिग विद्यार्थी प्रभावित भएको बताएका थिए।

प्रदर्शनकारीलाई गिरफ्तारी र बल प्रयोगमार्फत नियन्त्रण गर्दा अभिव्यक्ति स्वतन्त्रता तथा शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकार प्रभावित हुन सक्ने उनीहरूको चेतावनी थियो।

उत्तरी फ्रान्सको लिल सहरमा विद्यार्थी प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा ग्रेनेड विस्फोट हुँदा एक किशोरले आफ्नो हात गुमाएका थिए।

फ्रान्सबाहिर पनि फैलियो आन्दोलन

फ्रान्समा सुरु भएको आन्दोलन अहिले अन्य ३० युरोपेली देशमा पनि फैलिएको छ। पोर्चुगलदेखि पोल्यान्डसम्मका विभिन्न देशमा महँगी, न्यून ज्याला, आवास संकट र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध प्रदर्शन भएका छन्।

एसीएलईडीको तथ्यांकअनुसार सेप्टेम्बर १५ देखि अक्टोबर ३० सम्म युरोपभर १०० वा सोभन्दा बढी मानिस सहभागी भएका एक हजार ७०० भन्दा बढी प्रदर्शन तथा दंगाका घटना भएका छन्।

युरोपेली संघको कानुन तथा नीतिका प्राध्यापक अल्बर्टो आलेमान्नोले यस्ता प्रदर्शनले युरोपेली नागरिकमा बढ्दै गएको आर्थिक तथा सामाजिक असन्तुष्टि उजागर गरेको बताएका छन्।

पेरिसस्थित एचईसी बिजनेस स्कुलमा प्राध्यापन गर्ने आलेमान्नोका अनुसार फ्रान्स अहिले आन्दोलनको केन्द्रमा रहे पनि यसको प्रभाव अन्य युरोपेली देशमा समेत विस्तार हुँदै गएको छ।

कुन देशमा कति प्रदर्शन ?

एसीएलईडीको तथ्यांकअनुसार फ्रान्सपछि सबैभन्दा धेरै प्रदर्शन स्पेनमा भएका छन्। सेप्टेम्बर १५ देखि अक्टोबर ३० सम्म विभिन्न देशमा अभिलेख गरिएका प्रदर्शन तथा दंगाको संख्या यस्तो छ :

फ्रान्स : एक हजार २०० भन्दा बढी
स्पेन : १७३
इटाली : १६०
जर्मनी : ७०
पोर्चुगल : ३३

स्पेनमा अक्टोबर २ मा संसद्ले आवाससम्बन्धी दुईवटा आपतकालीन अध्यादेश खारेज गरेपछि अक्टोबरको सुरुवातमै हजारौँ मानिस विरोधमा उत्रिएका थिए। संसद्को निर्णयले प्रधानमन्त्री पेड्रो सान्चेज नेतृत्वको अल्पमत सरकारलाई समेत राजनीतिक दबाबमा पारेको थियो।

इटालीमा महँगी र महँगो आवासको समस्यालाई लिएर भएका प्रदर्शन कतिपय स्थानमा प्रहरीसँगको झडपमा परिणत भएका छन्।

त्यस्तै, पोर्चुगलका प्रमुख सहरमा आवास पाउन कठिन हुँदै गएको, ज्याला न्यून रहेको र दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka