काठमाडौं । पशुपतिनाथ मन्दिरको गैर–हिन्दु प्रवेश निषेध गरिएको आन्तरिक क्षेत्रमा प्रवेश गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएको एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–५ की प्रियंका परियार र इटहरी–८ का असिम अन्सारीलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूलाई मंगलबार साँझ करिब ५ बजे इटहरी–९ स्थित रंगशाला चोकबाट नियन्त्रणमा लिएको थियो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि बुधबार बिहान १०ः३० बजेको हवाई उडानमार्फत काठमाडौं पठाइएको छ।
दुई दिनअघि ‘प्रियङ्का सन्नी’ नामक टिकटक तथा फेसबुक अकाउन्टबाट आफूलाई मुस्लिम समुदायका सदस्यका रूपमा चिनाउने एक जोडी पशुपतिनाथ मन्दिरको भित्री गेटसम्म पुगेको भिडिओ सार्वजनिक भएको थियो। हिन्दु धर्मावलम्बीबाहेक अन्यलाई मुख्य मन्दिरको आन्तरिक भागमा प्रवेश निषेध रहेको अवस्थामा उनीहरू त्यहाँ पुगेको देखिएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।
### सुरक्षा व्यवस्थामाथि प्रश्न
घटनापछि सांसद खुस्बु ओलीले सामाजिक सञ्जालमार्फत पशुपति मन्दिरको सुरक्षा व्यवस्था र प्रवेशसम्बन्धी नियम कार्यान्वयनमाथि प्रश्न उठाएकी थिइन्।
उनले गैर–हिन्दुहरूलाई पशुपति क्षेत्रका खुला भाग, घाट तथा बगैँचामा प्रवेश गर्न पाउने भए पनि मुख्य मन्दिरको आन्तरिक भागमा प्रवेश गर्न नपाउने नियम स्मरण गराएकी थिइन्। प्रवेशद्वारमै सुरक्षाकर्मीले उनीहरूलाई रोक्न प्रयास गरे वा नगरेको तथा यस घटनामा पशुपति क्षेत्र विकास कोष कहाँ चुकेको हो भन्ने विषयमा समेत उनले प्रश्न उठाएकी थिइन्।
धार्मिक संवेदनशीलता जोडिएको विषय भएकाले नियम, उत्तरदायित्व र पारदर्शिताका आधारमा घटनाको सम्बोधन गर्नुपर्ने भन्दै उनले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी थिइन्।
छानबिन समिति गठन
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पशुपति क्षेत्र विकास कोष कार्यसम्पादन समितिले मंगलबार आकस्मिक बैठक बोलाएको थियो।
बैठकले घटनामा संलग्न व्यक्ति तथा भिडिओ तयार गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्नेहरूमाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्ने निर्णय गरेको छ।
मन्दिर सुरक्षामा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीबाट भएको सम्भावित कमजोरीबारे छानबिन गर्न कोषले पाँच सदस्यीय समिति पनि गठन गरेको छ। परिषद् सदस्य रामशोभित नायकको संयोजकत्वमा गठित समितिमा गंगासागर बानियाँ, सङ्गीता कुमारी राम, केदारमान भण्डारी र रूपा शाही बाँस्तोला सदस्य छन्। समितिलाई एक साताभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्न भनिएको छ।
घटनामा सुरक्षा व्यवस्थापनमा कमजोरी भएको भए त्यसप्रति कोषले सार्वजनिक रूपमा क्षमायाचनासमेत गरेको छ। साथै, आगामी दिनमा सुरक्षा व्यवस्था थप सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै आधिकारिक सूचना र तथ्यका आधारमा घटनालाई बुझ्न तथा धार्मिक सहिष्णुता र सद्भाव कायम राख्न कोषले अपिल गरेको छ।
‘नियत खराब थिएन’ भन्दै जोडीको स्पष्टीकरण
विवाद बढेपछि उक्त जोडीले सामाजिक सञ्जालमार्फत अर्को भिडिओ सार्वजनिक गर्दै आफूहरूको नियत खराब नभएको दाबी गरेको छ।
भिडिओमा प्रियंकाले पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सुरक्षा गार्डहरूको गल्ती नभएको बताएकी छन्। उनीहरूका अनुसार गेटबाट भित्र प्रवेश गरेलगत्तै सुरक्षाकर्मीले देखेर तत्कालै बाहिर पठाएका थिए।
प्रियंकाले आफूले टोपी फुकाल्न खोजेको र हिन्दु धर्म तथा मन्दिरभित्रको वातावरणबारे कौतूहल भएकाले भित्री भाग हेर्न चाहेको बताएकी छन्। तर आफूहरूले भगवानको दर्शन नगरेको उनको दाबी छ।
आफ्नो सोच सकारात्मक भए पनि गल्ती भएको स्वीकार गर्दै उनले घटनालाई लिएर राजनीतिकरण नगर्न आग्रह गरेकी छन्। साथै, नेपाली नागरिकका रूपमा पशुपति क्षेत्रको बाहिरी परिसरमा घुम्न पाउने अधिकार रहेको उनको भनाइ छ।
थप कानुनी प्रक्रिया काठमाडौंमा
पशुपति क्षेत्र विकास कोषले साइबर ब्युरोलाई गरेको पत्राचारका आधारमा पक्राउ परेका प्रियंका परियार र असिम अन्सारीलाई इलाका प्रहरी कार्यालय इटहरीले काठमाडौं पठाएको हो।
अब उनीहरूमाथि साइबर ब्युरो तथा सम्बन्धित निकायबाट घटनाको अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
