फायल फोटो
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द सत्र सम्पन्न हुँदैछ । आजको बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने कार्यक्रम छ ।
यसअघि गत सोमबारदेखि निरन्तर ती प्रतिवेदनहरूमाथि महाधिवेशन प्रतिनिधिहरूले निरन्तर विचार राखिरहेको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा सुरेश आचार्यले जानकारी दिए । छलफलमा सात प्रदेशका अतिरिक्त भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूसहभागी भएका छन् ।
आज बिहान साढे १० बजेदेखि बन्द सत्र पुनः सञ्चालन हुने कार्यतालिका रहेको आचार्यले बताए । भोलिको सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।
