काठमाडौं । दुबईबाट तेल अभिवतर्फ उडेको फ्लाई दुबईको विमानभित्रै एक पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेको घटना सार्वजनिक भएको छ। घटनापछि विमानको उडान मार्ग परिवर्तन गरी साउदी अरबमा अवतरण गरिएको जनाइएको छ।
उडान भरेको करिब दुई घण्टापछि विमान निर्धारित मार्गबाट मोडिएर साउदी अरबतर्फ गएको थियो। घटनाका क्रममा विमानमा रहेका यात्रुहरूले उडानलाई जोगाउन र नियन्त्रणमा ल्याउन प्रयास गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
घटनाबारे ट्रम्पले इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुसँग फोनमा कुराकानीसमेत गरेका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेतन्याहुले विमानभित्र भएको घटनाबारे आफूलाई जानकारी गराएको बताए।
ट्रम्पले घटनालाई ‘अत्यन्तै हैरान पार्ने कहानी’ भन्दै घटनामा संलग्न सह–पाइलट आतंकवादी हुन सक्ने वा उनको मानसिक अवस्था ठीक नभएको हुन सक्ने बताएका छन्। यद्यपि, घटनाको वास्तविक कारण र आक्रमणको उद्देश्यबारे अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन।
चक्कु प्रहारबाट घाइते भएका पाइलट भारतीय नागरिक स्मित मच्छर रहेको जनाइएको छ। ट्रम्पले घटनाका क्रममा आक्रमणमा परेका पाइलटको प्रशंसा गर्दै उनलाई ‘हिरो’को संज्ञा दिएका छन्।
विमानमा भएको घटनापछि यात्रु र चालक दलको सहयोगमा विमानलाई सुरक्षित रूपमा साउदी अरबमा अवतरण गराइएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
