विराटनगर । संसद्मा पाँच सय र एक हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले पाँच सय र एक हजार रुपैयाँका नोट तत्काल नोटबन्दी गरी बैंकिङ प्रणालीमा ल्याउन सरकारसँग माग गर्नुभएको हो।
संसद्मा बोल्दै सांसद न्यौपानेले पछिल्लो ३५ वर्षमा भ्रष्टाचार र अनियमितताबाट जम्मा भएको भनिएको कालोधन व्यवस्थापन गर्न नोटबन्दी आवश्यक रहेको बताउनुभयो। उहाँले पुराना नोट फिर्ता ल्याएर नयाँ स्वरूपका नोट जारी गर्नुपर्ने धारणा राख्नुभयो।
न्यौपानेले भारतबाट सिक्दै आवश्यक परे नोटबन्दीमार्फत भ्रष्टाचारबाट लुकाइएको रकम बाहिर ल्याउनुपर्ने बताउनुभयो।
त्यसपछि बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि न्यौपानेको प्रस्तावमा समर्थन जनाउनुभयो। उहाँले पाँच सय र एक हजार रुपैयाँका पुराना नोट अविलम्ब नोटबन्दी गर्न सरकारसँग जोडदार माग गर्नुभयो।
दुलालले नोटबन्दीका लागि संघीय संसद्का सदस्यले हस्ताक्षर गर्नुपरे पनि आफूहरू तयार रहेको बताउनुभयो। उहाँले सरकारलाई पाँच सय र एक हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाउन केले रोकेको हो भन्दै सभामुखमार्फत तत्काल रुलिङ गर्न माग गर्नुभयो।
