विराटनगर । रुस र युक्रेनबीच हवाई आक्रमण तीव्र बन्दै जाँदा शनिबार दुवै देशमा भएका आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ।
युक्रेनमा रुसी आक्रमणबाट चार जनाको मृत्यु भएको छ भने रुसमा युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको ज्यान गएको स्थानीय अधिकारीहरूले बताएका छन्।
रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको करिब साढे चार वर्ष बितिसक्दा पनि युद्ध जारी छ। अग्रमोर्चामा प्रगति सुस्त रहे पनि रुसले क्रुज तथा ब्यालिस्टिक मिसाइल, ग्लाइड बम र जेट–सञ्चालित ड्रोनमार्फत युक्रेनमाथि निरन्तर आक्रमण गर्दै आएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले दैनिक रूपमा आक्रमणको दायरा र तीव्रता बढाइरहेको बताएका छन्। उनले युद्ध थप फैलिन नदिन अन्तर्राष्ट्रिय समुदायलाई रुसविरुद्ध थप दृढ कदम चाल्न आग्रह गरेका छन्।
जेलेन्स्कीका अनुसार किएभ, जापोरिजिया, ओडेसा, सुमी र खार्किभ क्षेत्रमा आवासीय भवनलाई समेत लक्षित गरी आक्रमण गरिएको छ। जापोरिजियाको क्षेत्रीय सैन्य प्रशासनका अनुसार ध्वस्त घरको भग्नावशेषमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ। सुमी सहरमा भएको अर्को रुसी आक्रमणमा पनि दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
यसैबीच, युक्रेनले लामो दूरीका ड्रोनमार्फत रुसका तेल प्रशोधन केन्द्र तथा अन्य औद्योगिक प्रतिष्ठानलाई निशाना बनाएको छ। स्थानीय अधिकारीका अनुसार दक्षिणी क्रास्नोदार क्षेत्रमा भएको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले दुई औद्योगिक क्षेत्रमा आगलागी भएको जानकारी दिएका छन्। रुसी सञ्चारमाध्यमका अनुसार आक्रमणको मुख्य लक्ष्य स्थानीय तेल प्रशोधन केन्द्र थियो।
यसअघि संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने क्रममा जेलेन्स्कीले विभिन्न देशलाई रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउँदै युद्ध सञ्चालनका लागि आवश्यक राजस्वमा रोक लगाउन आग्रह गरेका थिए। लामो समयदेखि कूटनीतिक प्रयास भइरहे पनि युद्ध अन्त्य हुने स्पष्ट सङ्केत भने देखिएको छैन।
शनिबार बिहान किएभ क्षेत्रमा भएको रुसी ड्रोन आक्रमणबाट बोरिस्पिल जिल्लास्थित एउटा गोदाममा आगलागी भएको छ। घटनामा दुई जना घाइते भएका छन्।
अधिकारीका अनुसार राजधानी किएभका विभिन्न क्षेत्रमा रुसी ड्रोन प्रहार हुँदा थप चार जना घाइते भएका छन् भने आवासीय तथा कार्यालय भवनमा क्षति पुगेको छ।
रुसको रक्षा मन्त्रालयले किएभमा गरिएको आक्रमणका क्रममा मोबाइल इन्टरनेट सेवा तथा स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीलाई सहयोग पुर्याउने एक डाटा सेन्टरमा समेत क्षति पुगेको दाबी गरेको छ।
