काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी भई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र साह शनिबार स्वदेश फर्किएका छन्।
१४ सदस्यीय टोलीसहित कतारको दोहा हुँदै काठमाडौँ आइपुगेका प्रधानमन्त्री साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) ले स्वागत गरेका थिए।
प्रधानमन्त्रीको यो पहिलो विदेश भ्रमण सादगीपूर्ण रह्यो।
प्रस्थानका समयमा जस्तै स्वदेश फर्किँदा पनि विगतका भ्रमणहरूमा देखिने रेड कार्पेट, गार्ड अफ अनरसहितको औपचारिक तामझाम हटाइएको थियो। मन्त्रीहरूको सामान्य स्वागतपछि प्रधानमन्त्री सिधै विमानस्थलबाट बाहिरिएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री साहले महासभामा विशेष गरी जलवायु परिवर्तनका असर, ‘हिमालयको सुनामी’ र अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दालाई सशक्त रूपमा उठाएका छन्।
