काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ।
मेटाका अनुसार पछिल्ला दुई वर्षदेखि सिंगापुर प्रहरी बल (एसपीएफ) र मेटाबीच ठगी तथा जालसाजी नियन्त्रणका लागि सूचना आदान–प्रदान हुँदै आएको छ। यही सहकार्यका आधारमा मेटाका अनुसन्धानकर्ताले ठगीमा संलग्न समूह र उनीहरूले सञ्चालन गरेका विभिन्न नेटवर्क पहिचान गरी कारबाही गर्न सहयोग पुगेको कम्पनीले जनाएको छ।
मेटाका अनुसार जनवरीदेखि जुनसम्म फेसबुक र इन्स्टाग्राममा ठगी तथा जालसाजीसँग सम्बन्धित एक लाख १३ हजारभन्दा बढी अकाउन्ट, पेज तथा अन्य इकाइ हटाइएको थियो। जुनमा मात्रै विद्यालय बिदाको समयमा परिवारहरूले सस्तो यात्रा प्याकेज खोज्ने अवसरको फाइदा उठाएर ठगी गर्ने प्रयासमा रहेका समूहसँग सम्बन्धित ३३ हजार ६ सयभन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरिएको थियो।
त्यस्तै, जुलाईमा मेटाले ठगीसँग सम्बन्धित ३६ लाखभन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरेको जनाएको छ। तीमध्ये अधिकांश ‘शेल पेज’ थिए। हाल सामग्री नराखिएका वा सक्रिय रूपमा प्रयोगमा नरहेका यस्ता पेजहरू भविष्यमा ठगीका गतिविधिका लागि अपराधीहरूले खरिद वा कब्जा गर्न सक्ने भएकाले कारबाही गरिएको मेटाले जनाएको छ। कम्पनीले भने अघिल्लो वर्षको तुलनात्मक तथ्यांक सार्वजनिक गरेको छैन।
मेटाका अनुसार ठगी गर्ने समूहहरूले विभिन्न देश र डिजिटल प्लेटफर्ममा एकैसाथ गतिविधि सञ्चालन गर्ने भएकाले यस्तो गतिविधिको सम्पूर्ण तस्वीर एउटै संस्थासँग नहुने अवस्था छ।
मेटाका एसिया–प्रशान्त क्षेत्रका कानुन कार्यान्वयनसम्बन्धी निर्देशक ड्यारिल पुनले सिंगापुर प्रहरीसँगको सहकार्यबाट आफ्नै स्रोतबाट पहिचान गर्न नसकिने जोखिम तथा गतिविधिबारे जानकारी प्राप्त गर्न सहयोग पुगेको बताए। प्राप्त सूचनाका आधारमा ठगी गर्ने नेटवर्कमाथि ठूलो स्तरमा कारबाही गर्न सकिएकाले ती समूह धेरै मानिससम्म पुग्नुअघि नै उनीहरूको गतिविधि रोक्न सहयोग पुगेको उनको भनाइ छ।
मेटाको दक्षिणपूर्वी एसियाका सार्वजनिक नीति निर्देशक क्लारा कोहका अनुसार ठगी गर्ने समूहहरू अहिले औद्योगिक स्तरमा सञ्चालन भइरहेका छन्। उनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर ठूलो संख्यामा नक्कली प्रोफाइल बनाउने, नक्कली तस्बिर तथा अन्य सामग्री तयार गर्ने र हानिकारक कोडसमेत उत्पादन गर्ने गरेको उनले बताइन्।
मेटाले आफ्ना प्लेटफर्मको सुरक्षा प्रणाली थप मजबुत बनाउँदै प्रयोगकर्तासम्म पुग्नुअघि नै ठगीसँग सम्बन्धित सामग्री पहिचान गरी हटाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ।
