इस्लामाबाद । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारीलाई लक्षित गरी विस्फोट गराउँदा ६ सैनिकको मृत्यु भएको छ। घटनापछि सुरक्षा बलले गरेको छुट्टाछुट्टै कारबाहीमा १० जना संदिग्ध आतङ्ककारी मारिएको पाकिस्तानी सेना र प्रहरीले जनाएको छ।
खैबर पख्तुनख्वा प्रान्तको हङ्गु जिल्लामा बिहीबार सुरक्षा बलको सवारीलाई लक्षित गरी बम विस्फोट गराइएको थियो। विस्फोटमा ६ सैनिकको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।
पाकिस्तानी सेनाका अनुसार उत्तरी वजीरिस्तान र हङ्गु जिल्लामा बिहीबार गुप्तचर सूचनाका आधारमा विभिन्न स्थानमा कारबाही गरिएको थियो। ती क्रममा संदिग्ध आतङ्ककारी लुकेर बसेका स्थानमा छापा मार्दा १० जना मारिएको सेनाले जनाएको छ।
सेनाले मारिएका व्यक्तिलाई ‘ख्वारिज’ भनेको छ। पाकिस्तानी सरकारले तहरीक–ए–तालिबान पाकिस्तानका सदस्यलाई जनाउन यो शब्द प्रयोग गर्दै आएको छ। तहरीक–ए–तालिबान पाकिस्तान अफगानिस्तानमा सन् २०२१ मा सत्तामा फर्किएको तालिबानबाट अलग संगठन भए पनि दुवैबीच सम्बन्ध रहेको बताइन्छ।
पाकिस्तानमा पछिल्लो समय सुरक्षा बललाई लक्षित गरी भएका विभिन्न आक्रमणमा सैनिकको मृत्यु हुँदै आएको छ। गत जुनमा आतङ्ककारीसँग भएको भिडन्तमा पाकिस्तानी रेन्जर्सका तीन सैनिक मारिएका थिए भने चार जना घाइते भएका थिए।
पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारमाथि तहरीक–ए–तालिबान पाकिस्तानलाई आश्रय दिएको र सीमापारबाट हुने आतङ्कवादी आक्रमण रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै आएको छ। तर, काबुलस्थित तालिबान सरकारले भने पाकिस्तानका यस्ता आरोपलाई पटक–पटक अस्वीकार गर्दै आएको छ।
