Premier Cables

राजनीति

सदनमा किन बोल्दैनन् मोरङ-२ का सांसद कृष्णकुमार कार्की ?

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०१, २०८३  | बिहान ११:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की संसद्मा निर्वाचित भएको करिब ६ महिनाको अवधिमा सदनमा एकपटक पनि बोलेका छैनन्।

प्रतिनिधिसभाको आधिकारिक डिजिटल अभिलेखअनुसार कार्की २०८२ साल फागुन २१ गते भएको निर्वाचनबाट मोरङ २ बाट निर्वाचित भएका हुन्। उनले निर्वाचनमा ४० हजार ९२४ मत प्राप्त गर्दै नेकपा एमालेका निकटतम प्रतिस्पर्धी दिलीपकुमार अग्रवाललाई २५ हजार ३०० मतको अन्तरले पराजित गरेका थिए। यो उनको पहिलो संसदीय कार्यकाल हो।

विज्ञापन

तर संसद् प्रवेश गरेको केही महिनामै उनको संसदीय सक्रियतामाथि प्रश्न उठ्न थालेको छ। संसद्को आधिकारिक विवरणअनुसार प्रतिनिधिसभाका हालसम्मका ५८ बैठकमध्ये कार्की ५३ वटा बैठकमा उपस्थित भएका छन्। उनको संसद् उपस्थिति करिब ९१ प्रतिशत भए पनि सदनमा बोलेको वक्तव्य संख्या भने शून्य रहेको संसद्को अभिलेखमा उल्लेख छ।

सांसदका रूपमा उनले आफ्नो निर्वाचन क्षेत्रका समस्या, विकास निर्माण, स्थानीय पूर्वाधार, कृषि, रोजगारी वा अन्य सार्वजनिक सरोकारका विषय सदनमा उठाएको अभिलेखसमेत हालसम्म देखिँदैन। यद्यपि, सदनमा नबोलेको कारणबारे सांसद कार्कीको आधिकारिक धारणा सार्वजनिक अभिलेखमा भेटिँदैन।

कार्की प्रतिनिधिसभाको अर्थ समितिका सदस्यसमेत हुन्। संसद्को अभिलेखअनुसार अर्थ समितिका १३ बैठकमध्ये उनी ४ वटा बैठकमा मात्र सहभागी भएका छन्। समितिको उपस्थितिसमेत जोड्दा उनको समिति सहभागिता करिब २१ प्रतिशत देखिन्छ।

अर्थ समिति सरकारको आर्थिक नीति, बजेट तथा सार्वजनिक वित्तसँग सम्बन्धित विषयमा छलफल र निगरानी गर्ने महत्वपूर्ण संसदीय समिति हो। कार्कीसमेत सदस्य रहेको यस समितिले विभिन्न सरकारी निकायसँग छलफल तथा अनुगमनसम्बन्धी काम गर्दै आएको छ।

मोरङ २ मा कार्कीले ४० हजार ९२४ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका दिलीपकुमार अग्रवालले १५ हजार ६२४ र नेपाली कांग्रेसका मीनेन्द्रप्रसाद रिजालले १२ हजार ७६४ मत पाएका थिए।

ठूलो मतान्तरसहित निर्वाचित भएपछि क्षेत्रवासीले नयाँ सांसदबाट आफ्नो क्षेत्रका समस्या संसद्मा प्रभावकारी रूपमा उठाउने अपेक्षा गरेका थिए। तर संसद्को अभिलेखमा अहिलेसम्म उनको कुनै सदन वक्तव्य नदेखिएपछि सांसदको भूमिकामाथि स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ।

विशेषगरी मोरङ २ क्षेत्रमा कृषि तथा मलखादको समस्या, सडक, सिँचाइ, नदी कटान, रोजगारीलगायतका स्थानीय समस्या रहेको अवस्थामा निर्वाचित सांसदले संसद्मा ती विषय उठाउने अपेक्षा हुनु स्वाभाविक भए पनि कार्कीको संसदीय अभिलेखमा त्यस्तो पहल देखिएको छैन।

सांसद कार्कीको अर्को विषय सम्पत्ति विवरणसँग सम्बन्धित छ। रास्वपाले सार्वजनिक गरेको सूचीअनुसार आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण नबुझाउने सांसदहरूको सूचीमा कृष्णकुमार कार्कीको नाम पनि परेको छ। 

यसरी निर्वाचित भएको केही महिनामै सदनमा शून्य वक्तव्य र सम्पत्ति विवरण नबुझाएको विषयले कार्कीको संसदीय भूमिकामाथि थप चासो उत्पन्न गरेको छ।

सांसद कार्कीको नाम नाइजेरियन नागरिकसँग जोडिएको व्यक्तिगत सम्बन्धसम्बन्धी विवादमा पनि आएको थियो। विभिन्न सञ्चारमाध्यममा एक नाइजेरियन महिलाले कार्कीमाथि आफूलाई गर्भवती बनाएर सम्पर्कविहीन भएको आरोप लगाएको समाचार प्रकाशित भएका थिए। यो विषयलाई लिएर २०८३ जेठमा प्रतिनिधिसभामै केही सांसदले प्रश्न उठाएका थिए। त्यस प्रकरण पछि कार्की क्षेत्र र सार्वजनिक ठाउँ कम देखिन थालेका छन । 

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka