विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको पहिलो जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ। जिल्ला सभापति पदमा तीन जनाले उम्मेदवारी दर्ता गरेपछि नेतृत्व सर्वसम्मत हुन नसकेको हो।
विराटनगर–४ स्थित होटल मनास्लुमा शनिबार सम्पन्न खुला सत्रपछि सभापति पदका लागि निवर्तमान जिल्ला सभापति भरत कडेल, कोषराज खनाल र सागर फुयालले उम्मेदवारी दर्ता गराएका छन्। तीन जनाबीच प्रतिस्पर्धा हुने भएपछि अधिवेशनमा चुनावी माहोल तातेको छ।
जिल्ला कार्यसमितिका ९ पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। उपसभापति पदमा भने विराटनगर–२ निवासी बस्नेत सर्वसम्मत निर्वाचित भएकी छन्। उनी यसअघि पनि उपसभापतिकै जिम्मेवारीमा रहेकी थिइन्।
सचिव पदका लागि कुमार खुलाल, दिवस नेपाल, बुद्धिनाथ अधिकारी र ई. सुरेश कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। सह–सचिव पदमा सन्तोष कुमार सिंह र सृजना आचार्य गिरी चुनावी मैदानमा छन्। त्यस्तै सदस्यका ४ पदका लागि ७ जनाले उम्मेदवारी दिएका छन्।
निर्वाचन अधिकृत नारायण घिमिरेका अनुसार दिउँसो २ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र राति १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
अधिवेशनमा जिल्लाभरबाट ५३१ जनाले मतदान गर्न पाउने व्यवस्था गरिएको छ। रास्वपाको विधानअनुसार पालिका अधिवेशनबाट निर्वाचित प्रतिनिधि, विभागीय सदस्य, पालिका तथा क्षेत्रीय सभापति, जिल्ला, प्रदेश र केन्द्रीय समितिका सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरूलाई मताधिकार प्रदान गरिएको निर्वाचन समितिले जनाएको छ।
रास्वपाले देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेको सन्दर्भमा मोरङ अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ। पार्टीले शनिबार ३६ जिल्लामा र आइतबार थप २५ जिल्लामा अधिवेशन आयोजना गरेको छ। यी अधिवेशनमार्फत जिल्ला तहको नेतृत्व चयन गर्ने पार्टीको योजना रहेको छ।
हालका निर्वाचनहरूमा मोरङ रास्वपाको बलियो आधार क्षेत्रका रूपमा स्थापित भएको छ। पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले मोरङका सबै ६ निर्वाचन क्षेत्रमा विजय हासिल गर्दै ‘क्लिन स्वीप’ गरेको थियो। त्यसैले जिल्ला नेतृत्व चयनलाई आगामी संगठन विस्तार र राजनीतिक रणनीतिसँग जोडेर हेरिएको छ।
पहिलो जिल्ला अधिवेशनमार्फत चयन हुने नयाँ नेतृत्वले मोरङमा पार्टी संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ भने सभापति पदको त्रिपक्षीय प्रतिस्पर्धाले कार्यकर्ता र प्रतिनिधिहरूबीच उत्साह थपिएको देखिएको छ।


