Premier Cables

कोशी प्रदेश

कोशी प्रदेशमा बजेट खर्च सुस्त, श्रावणमा १ करोड ३९ लाख मात्रै खर्च

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०१, २०८३  | बिहान १०:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

 

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना श्रावणमा कुल बजेटको ०.०३ प्रतिशत मात्रै खर्च गरेको छ। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार श्रावणमा प्रदेश सरकारको कुल खर्च १ करोड ३९ लाख रुपैयाँ रहेको छ।

विज्ञापन

कुल खर्चमध्ये चालुतर्फ ७२ लाख रुपैयाँ र पूँजीगततर्फ ६७ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ। प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेट ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ रहेको छ।

कुल बजेटमध्ये चालु खर्चका लागि १३ अर्ब ९८ करोड ६४ लाख, पूँजीगत खर्चका लागि २० अर्ब ७५ करोड ९९ लाख, वित्तीय व्यवस्थातर्फ १५ करोड तथा स्थानीय तह अनुदानका लागि ५ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

 

राजस्व संकलनमा पनि गिरावट

चालु आर्थिक वर्षको पहिलो महिनामै कोशी प्रदेशको राजस्व संकलनमा समेत उल्लेख्य कमी देखिएको छ। श्रावण महिनामा प्रदेश सञ्चित कोषमा ९ करोड १७ लाख रुपैयाँ राजस्व दाखिला भएको मन्त्रालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८२/८३ को श्रावणमा प्रदेश सञ्चित कोषमा १९ करोड ९३ लाख रुपैयाँ राजस्व दाखिला भएको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षको श्रावणमा राजस्व दाखिला ५३.९९ प्रतिशतले घटेको छ।

मन्त्रालयका अनुसार श्रावण महिनामा संकलन भएको राजस्व भदौ महिनामा बाँडफाँट भई प्रदेश सञ्चित कोषमा दाखिला हुने भएकाले वास्तविक राजस्व संकलन रकम भने सार्वजनिक विवरणमा देखिएकोभन्दा बढी हुन सक्छ।

४० अर्ब ४४ करोड बजेटको स्रोत के हो ?

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, संघीय राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड तथा वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड रुपैयाँ जुटाउने अनुमान गरेको छ।

त्यस्तै, सशर्त अनुदानबाट ५ अर्ब ९५ करोड, विशेष अनुदानबाट ५५ करोड, समपूरक अनुदानबाट ८४ करोड र रोयल्टीबाट ४१ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ। सोझै भुक्तानीबाट २० करोड र नगद मौज्दातबाट ५ अर्ब रुपैयाँ व्यहोर्ने गरी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट तयार गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka