काठमाडौं । प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ ।
नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री गुरुङको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।
गृहमन्त्री गुरुङको सम्पत्ति, शेयर लगानी तथा व्यवसायीसँगको सम्बन्धबारे उठेका प्रश्नबारेको छानबिन प्रतिवेदन जनताले जान्न पाउनुपर्ने सांसद केरुङको भनाइ छ ।
स्वार्थको द्वन्द्व नहोस् र आफूविरुद्ध निष्पक्ष छानबिन होस् भन्दै गृहमन्त्री गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए । त्यसपछि सरकारले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले गृहमन्त्रीको सम्पत्ति, आम्दानीको स्रोत, ऋण, शेयर लगानी, बैंक मौज्दातलगायत विषयमा अध्ययन गरी ४५ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भए पनि सार्वजनिक भएको छैन ।
सांसद केरुङले प्रतिवेदन सार्वजनिक नगरी गुरुङलाई पुनः मन्त्री नियुक्त गर्नुले सरकारको पारदर्शिता र सुशासनमाथि प्रश्न उठेको बताए । ”छानबिनका लागि मार्ग प्रशस्त गर्ने उहाँको कदमलाई राजनीतिक संस्कारको प्रारम्भ नै होला भन्ने सभ्य समाजमा लागेको थियो । प्रतिवेदन सार्वजनिक नगरी त्यसपछाडि फेरि गृहमन्त्री बन्नुभयो, अब जनताको प्रश्न भनेको गृहमन्त्रीको व्यक्तिगत सम्पत्तिबारे होइन सम्माननीय सभामुख महोदय, सरकारको पारदर्शिता र सुशासनप्रति हो,” उनले भने ।
प्रतिवेदनका आधारमा सरकारले गृहमन्त्रीलाई निर्दोष ठहर गरेको भए त्यसको आधार, प्रमाण र बयान सार्वजनिक गर्न सांसद केरुङको माग छ
