विराटनगर । नेपाली नारीहरूको महान् पर्व हरितालिका (तीज) को औपचारिक सुरुवात भइसकेको छ । भाद्र शुक्ल द्वितीयाका दिन मनाइने ‘दर खाने दिन’ सँगै चार दिनसम्म यो पर्व चल्छ ।
निराहार व्रतका लागि शरीरलाई शक्ति र आड प्राप्त होस् भन्ने उद्देश्यले मीठा तथा अडिला परिकारहरू दरका रूपमा खाने परम्परा छ।
विशेष गरी माइती तथा दाजुभाइले आफ्ना छोरी, चेली र दिदीबहिनीलाई घरमा निमन्त्रणा गरी दर खुवाउने गर्छन्। दरका रूपमा दूध, घिउ तथा गहुँको रोटीजस्ता शुद्ध र अडिला परिकार खाने गरिन्छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार मध्यरात (दुई भाग रात) छँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ।
तीज केवल धार्मिक पर्व मात्र नभई सामाजिक र सांस्कृतिक उत्सव पनि हो। वर्षभरि माइती र कर्मघरका क्रममा भोगेका दुःख, पीर र रोदनलाई नारीहरूले गीत तथा नृत्यका माध्यमबाट सार्वजनिक गर्ने र आफ्ना भावना पोख्ने अवसरका रूपमा यस पर्वलाई लिने गर्छन्।
कुनै समय नेपालमा मात्र सीमित रहेको तीज पर्व पछिल्ला वर्षहरूमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रभावका कारण भारत लगायतका अन्य देशहरूमा पनि विस्तार हुन थालेको छ।
अचेल भारतीय टेलिभिजन च्यानलहरूमा समेत तीजका गीत र यसको महत्त्वलाई प्राथमिकताका साथ स्थान दिन थालिएको छ।
