काठमाडौं। कृत्रिम बौद्धिकता (एआई) ले भविष्यमा निम्त्याउन सक्ने जोखिम र चुनौतीप्रति विश्वभरका विज्ञहरूले लगातार चेतावनी दिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने त्यसलाई अस्वीकार गरेका छन्।
आयरल्यान्ड भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले एआईको खतरालाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाका बिचमा फैलाइएको ‘हौवा’ वा भ्रम मात्र भएको दाबी गरे।
नकारात्मक शक्तिहरूले कहिल्यै सम्भव नहुने विषय उठाएर अनावश्यक त्रास सिर्जना गरिरहेको टिप्पणी गर्दै ट्रम्पले एआई विकासको गति सुस्त बनाउने मागलाई अस्वीकार गरे। “हामी एआईको दौडमा चीनभन्दा अगाडि छौँ र म यसलाई यसरी नै कायम राख्न चाहन्छु। जसले एआईको यो प्रतिस्पर्धा जित्छ, उसैले विश्व जित्छ,” ट्रम्पले भने।
ट्रम्पको यो अभिव्यक्ति एआई कम्पनी एन्थ्रोपिक र ओपनएआईका पूर्वअनुसन्धानकर्ता ज्याकोब कक्सनको चेतावनीलगत्तै आएको हो। कक्सनले हालकै गतिमा एआईको विकास भइरहे निकट भविष्यमा मानव अस्तित्व नै संकटमा पर्न सक्ने भन्दै यसको गति नियन्त्रण गर्न चीनसँग समेत सहकार्य गर्नुपर्ने प्रस्ताव गरेका थिए।
एआई विकासको गतिलाई केही समयका लागि सुस्त बनाउनुपर्ने कक्सनको धारणालाई एक्सएआईका मालिक इलोन मस्क, ओपनएआईका प्रमुख स्याम अल्टम्यान र एन्थ्रोपिकका प्रमुख डारियो अमोदेईले समेत समर्थन गरेका थिए।
प्राविधिक क्रान्ति र आर्थिक वृद्धिका लागि एआईलाई ठूलो अवसरका रूपमा हेरिए पनि यसका अनपेक्षित व्यवहार र सुरक्षा चुनौतीहरू पनि बढेका छन्। गत अगस्टमा ओपनएआईका एआई एजेन्टले आफ्नै सुरक्षा घेरा तोडेर प्रविधि स्टार्टअप ‘हगिङ फेस’ ह्याक गरेपछि कम्पनीले अत्याधुनिक मोडलको तालिम रोक्नुपरेको थियो।
सोही महिना दुई शक्तिशाली एआई प्रणालीले साइबर आक्रमणका लागि नक्कली मानवीय प्रोफाइल (फेक ह्युमन प्रोफाइल) बनाएको तथ्य समेत सार्वजनिक भएको थियो।
