Premier Cables
Premier Steel

खेलकुद विराटनगर

सहिद रंगशालामा फ्लड लाइट नै भार, खर्च धान्नै हम्मेहम्मे !

कुमार लुइँटेल Calendar बिहिबार, मंसिर ११, २०८२  | बिहान १०:४२ बजे

विराटनगर । विराटनगरस्थित सहिद रंगशालामा रात्रीकालीन खेल खेलाउने लक्ष्यसहित पाँच वर्षअघि फ्लड लाइट राखियो । विराटनगरमा दिउँसो अत्यधिक गर्मी हुने भएकाले राति खेल सञ्चालनको उद्देश्यसहित फ्ल्ड लाइट जडान गरिएको थियो ।

यहाँको चर्चित प्रतियोगिता विराट गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्न मुलुकमै पहिलोपटक फ्लड लाइट जोडिएपछि धेरैले स्वागत गरे ।

बिज्ञापन

तर यसको उपयोगिता भने उद्देश्य अनुरुप हुन सकेको छैन । अहिले यो लाइट वर्षमा एउटा प्रतियोगिताका लागि मात्रै प्रयोग हुने अवस्थामा पुगेको छ । कुनै कारणवश विराट गोल्डकप आयोजना नभए त्यो पनि बल्दैन ।
उक्त प्रतियोगिताका लागि जडान भएको लाइट प्रतियोगिता सकिएपछि वर्षभरी बाल्नु पर्दैन ।

यद्यपि वर्षभरि विद्युत् महसुल भने बुझाइरहनु पर्छ । त्यसमाथि मर्मतसम्भारमा लाग्ने खर्च छुट्टै छ । फ्ल्ड लाइट सञ्चालन र रेखदेखको जिम्मा लिएको कोसी प्रदेश खेलकुद बोर्डलाई अहिले यसको विद्युत् महसुल बुझाउनसमेत हम्मेहम्मे परेको छ ।

“प्रतियोगिता अवधिभर जेनेरेट नै चलाउनु पर्छ । जेनेरेटले घण्टाकै ३० लिटर डिजेल खपत गर्छ । एक दिनको खेलमा ९० लिटर डिजेल चाहिन्छ,” विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाही भन्छन्, “बिजुलीबाट बाल्दा प्रतियोगिता हुँदै गर्दा लाइन गए खेल प्रभावित हुने भएकोले जेनेरेटर नै चलाइन्छ ।”

उनका अनुसार २०८१ को प्रतियोगिता अवधिभर जेनेरेटर चलाउँदा डिजेलमा एक लाख ७९ हजार रुपैयाँ खर्च भएको थियो । अघिल्लो वर्षसम्म कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयले विद्युत महसुल वापतको खर्च दिँदै आएको थियो । तर, यस पटकदेखि भने आफैँ जिम्मा लिन बोर्डलाई सूचित गरेको छ ।

बोर्डका सूचना अधिकारी कालीदास भट्टराईले भने, “विद्युत् महसुल मात्र वार्षिक करिब पाँच लाख रुपैयाँ पुग्छ, त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने हामीलाई चिन्ता छ ।” उनका अनुसार प्रतियोगिता अवधिभर सञ्चालन गर्ने प्राविधिक आयोजकले व्यवस्थापन गर्छन् ।

अहिले उक्त रंगशालाका फ्लड लाइटका नौवटा बल्ब बिग्रिएर फेर्नुपर्ने अवस्थामा पुगेका छन् । अघिल्लो पटक पनि बिग्रिएका थिए । त्यसबेल मर्मत गर्दा ४६ हजार रुपैयाँ खर्च भएको थियो । पोलमा चिलले गुँड लगाउने र बत्ती बाल्दा सर्ट भएर जल्ने समस्या रहेको रहेको भट्टराईको भनाइ छ ।

उनले भने, “सहिद रंगशालामा फुटबलबाहेक अन्य खेलकुद गतिविधि गर्न रोक लगाइएको छ, यहाँ वर्षमा एकपटक विराट गोल्डकप मात्रै हुन्छ त्यो भएन भने बत्ती बालिदैन् ।”

बोर्डका अनुसार बत्ती नबाल्दासमेत मासिक ३४ हजार रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई महसुल बुझाउनु पर्छ । यस हिसाबले बोर्डले विद्युत् महसुल मात्र वार्षिक चार लाख रुपैयाँभन्दा बढी बुझाउनु पर्छ । प्रतियोगिता आयोजना हुँदा त्यो अवधिभर विराटनगर गोल्डकप फुटबल ट्रस्टले आफ्नो आम्दानीबाट दैनिक पाँच हजार रुपैयाँ बोर्डलाई दिने सहमति भएको थियो ।

तर, हरेक वर्ष घाटा खाने प्रतियोगिताले कबोल गरेको रकमसमेत दिएको छैन् ।

रंगशालाका चारै कुनामा ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चारवटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटका २७ वटा बत्ती जडान गर्ने गरी चार करोड २९ लाख रुपैयाँ बजेटमा २०७७ वैशाख २५ गते सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो ।

कोरोना सङ्क्रमणको समयमा नेपाल र भारतको सीमा बन्द, अन्य आवश्यक सामग्री जडान, प्याराफिट मर्मतलगायतका कारण प्रदेश सरकारले अवधि बढाएर ८४ लाख रुपैयाँ बजेट थपेको थियो ।

दिगो व्यवस्थापनको छैन योजना

प्रदेश सरकारको साथ सहयोगले रंगशालामा फ्लड लाइट जडान भएपनि यसको स्थायी व्यवस्थापन हुन सकेको छैन । सरकारले त्यसबेला नै विराटनगर महानगरपालिका, निजी क्षेत्र र खेल क्षेत्रलाई समेत समेटेर सञ्चालन तथा दिगो व्यवस्थापनका लागि कार्यविधि र मापदण्ड बनाएर अघि बढ्ने योजना बनाएको थियो ।

तर, यत्तिका वर्ष बितिसक्दा समेत हुन सकेको छैन । यसले फ्लड लाइट व्यवस्थापन खर्चमात्र बढेको पाइएको छ । विसं २०७७ फागुन ५ गते सहिद रंगशालामा फ्लड लाइट परीक्षण गरिएको थियो । विसं २०७६ असोज १ गते प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच सहिद रंगशालामा फ्लड लाइट जडानको सम्झौता भएको थियो ।

२१० दिनभित्र काम सक्ने सम्झौता भए पनि कोरोना महामारीका कारण निर्धारित मितिमा पूरा भएन । त्यसपछि कार्की बन्धु अमर जेभीले थप समय माग्यो ।

कोरोनाका कारण सम्झौता अवधि गुज्रिएपछि तत्कालीन सामाजिक विकास मन्त्री जीवन घिमिरेले त्यही वर्ष लाइट जडान गर्न निर्देशन दिएको उल्लेख गर्दै भने, “नेपालमै नयाँ परियोजना भएका कारण त्यसबेला काम गर्न धेरै चुनौती भएको थियो तर पनि सम्पन्न गरियो ।”

आफू पदबाट हटेपछि कार्यविधि बनाएर दिगो व्यवस्थापन गर्ने कार्यसमेत त्यत्तिकै सेलाएर गएको बताउँदै घिमिरे भन्छन्, “दिगो व्यवस्थापनका लागि सहकार्य नभए कठिन हुने देख्छु ।”

सम्बन्धित निकायले फ्लड लाइटको दिगो व्यवस्थापनका लागि आवश्यक कार्यविधि र मापदण्ड बनाउनु पर्ने घिमिरेले सुझाव दिए । खेलकुद बोर्डका सूचना अधिकारी भट्टराईले यसबारे अब छलफल भएपनि काम भने नभएको सुनाए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व सहायक महासचिव बसन्त अर्याल विराट गोल्डकपले मात्र रंगशालाको लागत धान्न नसक्ने भएकाले महिला लिग, मुख्यमन्त्री कप, प्रदेश स्तरीय प्रतियोगिताहरु, प्याब्सन, हिसानले आयोजना गर्ने प्रतियोगिता र निजीक्षेत्रका रात्रिकालीन प्रतियोगिता गरेर आम्दानी बढाउनुपर्ने बताउँछन् ।

एन्फाले दशरथ रंगशाला व्यवस्थापन गरेजस्तै यहाँ पनि गर्नुपर्ने उनको सुझाव छ । विराटनगर महानगरपालिकाका तत्कालीन मेयर भीम पराजुलीका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग सम्झौता गरी रंगशाला व्यवस्थापनको जिम्मा महानगरले लिएको थियो ।

तर, महानगर मातहत आएको रंगशाला फेरि राखेपले नै लिएपछि महानगरले समेत हात झिक्यो । वर्तमान मेयर नागेश कोइरालाले रंगशालालाई महानगर मातहत ल्याएर संचालन गर्न चासो दिएका छैनन् ।

यस्तो छ विगत

प्रदेश खेलकुद बोर्डका अनुसार सहिद रंगशाला विराटनगर, कोशी प्रदेशको एक बहुउद्देश्यीय रंगशाला हो । यसको १५ हजार दर्शक क्षमता छ । यो कोसी प्रदेशकै सबैभन्दा ठूलो रङ्गशाला हो । रङ्गशालामा तीन मुख्य द्वार छन् ।

रङ्गशालामा विसं २०७३ पुस ८ गते सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । २०७६ मा साफ महिला च्याम्पियनसीपका सबै खेल यही रंगशालामा भएका थिए । रंगशालाभित्र भित्र सौर्य बत्तीहरू जडान गरिएको छ । सुरक्षाको चारैतिर तारबार गरिएको छ ।

पाँचौँ साफ महिला च्याम्पियनसिप अगाडि खेलाडी चेन्जिङ् रुम, खेलाडी आराम कक्ष, मिडिया सेन्टर निर्माण गरिएको छ । यो रंगशालमा महेन्द्र गोल्डकप (हाल विराट गोल्डकप) वि.सं २०१८ मा पहिलो पटक आयोजना गरिएको थियो । त्यसयताका विभिन्न वर्षहरुमा कहिले हुँदै र रोकिँदै विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ । १२खरीबाट

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka