विराटनगर । विराटनगरबाट गाँजासहित नियन्त्रणमा लिइएकाे दिव्य ज्योति अस्पताल प्रा.लि.लेखिएको भ्यानबाट अस्पालको नाम मेटेको पाइएको छ । यो अस्पताल विराटनगर १४ को मलाया राेडमा अवस्थित छ ।
मंगलबार राति ६० केजी गाँजासहित विराटनगर महानगरपालिका वडा नं १६ दरैयामा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले गाडी नियन्त्रणमा लिएको थियो । शंका लागि चेकजाँच गर्दा अस्पतालको नाम लेखिएको को१च ६६६० नम्बरको सुजुकी भ्यानमा दुई बोरा गाँजा बरामद भएको थियो । तर चालक भने भागेका थिए ।
त्यो गाडी सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको थियो । तर, बुधबार दिउँसो प्रहरी कार्यालयभित्रै रहेको गाडीबाट अस्पतालको नाम रहेको स्टिकर च्यातेर हटाएको पाइएको हो ।
अस्पताल प्रशासनले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी त्यो गाडी आफूहरुको स्वामित्वमा नरहेको दाबी गरेको थियो ।
तर, शंकास्पद रुपमा स्टिकर हटाइएको विषयमा प्रहरीले कसले हटाएको भन्ने जानकारी नभएको जनाएको छ ।
इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रविन घिमिरेले यस विषयमा अनुसन्धान शुरु गरिएको बताउँदै भने,‘‘च्यातिएको स्टिकर कम्पाउन्ड बाहिर फेला परेको छ ।’’ उनले यसबारे जानकारी नभएकाे र आफूहरुले मुचुल्का उठाउँदा गाडीमा स्टिकर भएकाे नै माथिल्लो निकायलाइ समेत रिपोर्टिङ गरिएकाे जानकारी दिएका छन् ।
“कम्पाउन्ड भित्रकाे गाडीकाे स्टिकर प्रहरीले च्यातेकाे हैन अरु सेवाग्राही चमेनागृहमा थिए कसले फटाही गरेको हुनसक्छ,” उनले भने.”स्टिकर पुन टाँस गरिने छ ।”
