काठमाडौँ। चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा ‘वाई-२०’ ठूला ट्रान्सपोर्ट विमानहरू उक्त राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
काठमाडौँस्थित चिनियाँ दूतावासका अनुसार राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरू पनि आवश्यक आधुनिक उद्धार उपकरणसहित काठमाडौँ आइपुगेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहका बीच उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। सामग्री हस्तान्तरण कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो।
सो अवसरमा मन्त्री पुन र राजदूत माओमिङसहितको टोलीले विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि आएका चिनियाँ विशेषज्ञ टोलीलाई स्वागत गर्दै चीन सरकारले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए।
