विराटनगर । जिल्ला कारागार मोरङभित्र लागुऔषध लगायतका अवैध वस्तु लुकाएर राखिएको गोप्य सूचनाका आधारमा सोमबार बिहानैदेखि सुरक्षाकर्मीले व्यापक खानतलासी सुरु गरेका छन्।
कारागार प्रशासनले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन गरी कारागारका विभिन्न ब्लक तथा कक्षहरूमा कडा तलासी लिइरहेको छ।
यसैबीच, सुरक्षाकर्मीको टोली खानतलासीका लागि भित्र प्रवेश गरेलगत्तै कैदीबन्दीहरूले भने उक्त कदमको तीव्र विरोध गर्दै नाराबाजी गरेका छन्। कारागारभित्रबाट कैदीबन्दीको नाराबाजी र होहल्ला जारी रहेपछि स्थिति नियन्त्रणमा लिन कारागार परिसर र बाहिरसमेत अतिरिक्त सुरक्षा बल तैनाथ गरिएको छ।
कारागार प्रशासनका अनुसार सुरक्षा व्यवस्था चुस्त बनाउन र अवैध वस्तुको ओसारपसार तथा प्रयोग रोक्नका लागि यो आकस्मिक अपरेसन चलाइएको हो। खानतलासीको पूर्ण विवरण र बरामद वस्तुका बारेमा भने अपरेसन सकिएपछि मात्र जानकारी दिइने बताइएको छ। हाल कारागार परिसरको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।
