Premier Cables
Premier Steel

राष्ट्रिय समाचार

पहिरो प्रभावित क्षेत्रमा अध्ययनसँगै उद्धार र राहत तीव्र पारिँदै

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ३१, २०८३  | साँझ ५:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रमा अध्ययन गर्ने निर्णय गरेको हो।

प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित अध्ययन टोली तीन दिनभित्र प्रभावित क्षेत्रमा परिचालन गरिनेछ। टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसमेत सहभागी हुनेछन्।

बिज्ञापन

मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा जनधनको क्षति बढिरहेका बेला कमाण्ड पोष्टले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। विशेषगरी रोल्पा, जाजरकोट र बझाङमा पहिरोबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्य तीव्र पार्न आग्रह गरिएको छ।

बैठकले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार प्रारम्भिक द्रुत लेखाजोखाका आधारमा प्रभावित परिवारलाई नगद वा वस्तुगत राहत उपलब्ध गराउन भनेको छ। साथै, मृतकका परिवारलाई राहत तथा घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न जिल्ला प्रशासन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई अनुरोध गरिएको छ।

विपद्बाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापनासम्बन्धी अनुदान प्रक्रिया पनि तत्काल अघि बढाउन निर्देशन दिइएको छ।

त्यसैगरी, पहिरो तथा बाढीका कारण अवरुद्ध सडक, खानेपानी, सिँचाइलगायत अत्यावश्यक सेवा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई भनिएको छ। नदी कटान तथा पहिरो नियन्त्रण, प्रभावितको स्वास्थ्योपचार र मनोसामाजिक परामर्शका कामलाई समेत प्राथमिकतामा राख्न आग्रह गरिएको छ।

देशका अधिकांश स्थानमा वर्षा भइरहेको तथा हिमाली र पहाडी क्षेत्रमा लगातारको वर्षाका कारण जमिन गलेर पहिरोको जोखिम बढेकाले सर्वसाधारणलाई मनसुन अवधिभर उच्च सतर्कता अपनाउन कमाण्ड पोष्टले आग्रह गरेको छ।

बाढी, आकस्मिक बाढी, गेग्रान बहाव र डुबानको जोखिम रहेका क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका सूचना र निर्देशन पालना गर्नसमेत सर्वसाधारणलाई आग्रह गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa