विराटनगर । नेपाली कांग्रेसनिकट शुभेच्छुक संगठनका रूपमा रहेको डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको केन्द्रीय अध्यक्ष पदमा विराटनगर निवासी वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले उम्मेदवारी घोषणा गरेका छन्।
आगामी भदौ १९ र २० गते बुटवलमा हुने डिएलए नेपालको १२औँ केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै थापाले आइतबार विराटनगरमा आयोजित कार्यक्रममा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उम्मेदवारी घोषणा भएसँगै उनले देशभरका कानुन व्यवसायीसँग भेटघाट तथा मत माग्ने अभियानसमेत सुरु गरेका छन्।
थापा लामो समयदेखि कानुन व्यवसायमा सक्रिय छन्। उनी २०४५ सालदेखि कानुन व्यवसायमा आबद्ध रहेको बताइएको छ। २०२० सालमा जन्मिएका थापा २०५७ सालमा मोरङ जिल्ला बार एसोसिएसनको अध्यक्षसमेत भइसकेका छन्। त्यस्तै, उनी २०६१ सालमा नेपाल कानून व्यवसायी परिषद्को पार्षद बनेका थापा नेपाल बार एसोसिएसनको सल्लाहकार र डिएलए नेपालको केन्द्रिय सल्लाहकार समेत भएर काम गरि सकेको उनको अनुभव छ ।
कानुन तथा न्यायको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका थापाले आफू अध्यक्षमा निर्वाचित भए कानुनी क्षेत्रको निष्पक्षता, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले डिएलएमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीलाई एकताबद्ध गर्दै स्वतन्त्र न्यायपालिका, निष्पक्ष न्याय प्रणाली तथा सक्षम संगठन निर्माणका लागि काम गर्ने बताएका छन्। साथै, सक्षम नेतृत्व विकास, संगठन सुदृढीकरण र समृद्ध कानुन व्यवसाय निर्माणका लागि निरन्तर काम गर्ने उनको प्रतिबद्धता छ।
यसैबीच, अध्यक्ष पदमा थापासँगै काठमाडौंकी अधिवक्ता लक्ष्मी रावल दाहालले पनि उम्मेदवारी घोषणा गरेकी छन्। महासचिव पदका लागि १२ जना प्रतिस्पर्धीले उम्मेदवारी घोषणा गरेका छन्।
विराटनगरमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा डिएलए नेपालका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम के.सी.को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका कानुन व्यवसायी तथा डिएलएमा आबद्ध सदस्यहरूको सहभागिता थियो।
बुटवलमा हुने १२औँ केन्द्रीय महाधिवेशनमा देशभरबाट करिब १ हजार ४ सय प्रतिनिधिले मतदान गर्ने बताइएको छ। महाधिवेशन नजिकिएसँगै अध्यक्षसहित विभिन्न पदका उम्मेदवारहरू मतदातासँग भेटघाट र समर्थन जुटाउने अभियानमा सक्रिय भएका छन्।
