Premier Cables
Premier Steel

अन्तराष्ट्रिय राजनीति समाचार

राजदूतसँग भेट्न नमानेका बालेनको कूटनीतिक ‘युटर्न’

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन २४, २०८३  | अपराह्न ३:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सोमबारदेखि नेपालमा रहेका विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्दै आएका शाहले अब भने एक–एक गरी भेटवार्ता गर्न लागेका हुन् । यसअघि उनले विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट गर्न अस्वीकार गर्दै आएका थिए ।

बिज्ञापन

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा अमेरिका लगायत विभिन्न देशका राजदूतसँग भेटवार्ता गर्ने तयारी छ ।

चैत १३ गते प्रधानमन्त्री नियुक्त भएपछि विभिन्न देशका राजदूतले बधाई तथा शुभकामना दिन भेटका लागि समय माग गरेका थिए । तर, प्रधानमन्त्री शाहले तत्काल छुट्टाछुट्टै भेटवार्ता नगरी चैत २५ गते एकैपटक विभिन्न देशका राजदूत तथा नियोग प्रमुखसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयमार्फत नेपालको विदेश नीतिबारे जानकारी गराइएको थियो ।

त्यस भेटमा भारत, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, अमेरिका र संयुक्त राष्ट्रसङ्घका राजदूत तथा नियोग प्रमुख सहभागी भएका थिए ।

त्यसपछि जेठ १२ गते प्रधानमन्त्री शाहले नेपालस्थित युरोपेली सङ्घ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग पनि सामूहिक भेटवार्ता गर्नुभएको थियो ।

सामूहिक भेटपछि विभिन्न देशका राजदूतले प्रधानमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ताका लागि प्रयास गरे पनि समय पाउन सकेका थिएनन् । विदेशबाट आएका उच्चस्तरीय कूटनीतिज्ञसँग समेत प्रधानमन्त्रीले भेटवार्ता नगरेको विषय कूटनीतिक वृत्तमा चर्चामा आएको थियो ।

अमेरिका र चीनबाट आएका विशिष्ट अतिथिसँग समेत प्रधानमन्त्री शाहले भेटवार्ता नगरेको बताइएको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणका क्रममा समेत प्रधानमन्त्रीसँग भेट हुन नसकेपछि उनको भ्रमण स्थगित भएको दाबी गरिएको छ ।

प्रधानमन्त्रीलाई विदेशी कूटनीतिज्ञसँग नियमित भेटवार्ता गर्नुपर्ने सुझाव विभिन्न तहबाट आउँदै आएको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले समेत प्रधानमन्त्रीको कूटनीतिक भेटघाट र विदेश भ्रमणका लागि पटक–पटक पहल गरे पनि त्यसअघि प्रधानमन्त्रीले त्यस्ता भेटवार्तामा रुचि नदेखाएको बताइएको छ ।

प्रधानमन्त्रीको कूटनीतिक भेटघाट सीमित भएपछि नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध प्रभावित हुन सक्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री खनालले कूटनीतिक सक्रियता बढाएका थिए । यस क्रममा लामिछानेले भारतको पाँचदिने भ्रमण गरिसकेका छन् भने परराष्ट्रमन्त्री खनालले भारत र चीनको भ्रमण गरिसक्नुभएको छ । लामिछाने चीन भ्रमणको तयारीमा समेत रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह जानुपर्ने भए पनि उहाँ सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री खनाल जाने तयारीमा रहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शाहलाई भारत र चीन भ्रमणका लागि निमन्त्रणा आए पनि हालसम्म विदेश भ्रमण गर्नेबारे उहाँले निर्णय लिनुभएको छैन । विदेशी राजदूतसँगको व्यक्तिगत भेटवार्ता सुरु हुनुलाई भने नेपालको कूटनीतिक सम्बन्ध र आगामी विदेश भ्रमणका लागि सकारात्मक वातावरण बन्ने संकेतका रूपमा हेरिएको छ ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa