विराटनगर । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै आणविक हतियारको खतराबारे विश्व समुदायलाई सचेत गराएको छ । हिरोसिमाका मेयर काजुमी मात्सुईले बढ्दो सैन्य प्रतिस्पर्धा र आणविक प्रतिरोधको नीतिले विश्वलाई फेरि हिरोसिमा र नागासाकीजस्तो त्रासदीतर्फ लैजान सक्ने चेतावनी दिनुभयो ।
हिरोसिमा शान्ति स्मारक पार्कमा आयोजित कार्यक्रममा करिब ५० हजार मानिस सहभागी भएका थिए भने अमेरिका, इरानसहित १२० देश तथा क्षेत्रका प्रतिनिधि उपस्थित थिए । सन् १९४५ अगस्ट ६ मा बिहान ८ः१५ बजे हिरोसिमामा आणविक बम खसालिएको समय सम्झँदै एक मिनेट मौनधारण गरिएको थियो ।
मेयर मात्सुईले आणविक हतियारलाई सुरक्षा माध्यमका रूपमा हेर्ने सोचले शान्तिको लक्ष्य कमजोर बनाउने बताउँदै विगतका पीडाबाट पाठ सिक्न आग्रह गर्नुभयो । प्रधानमन्त्री साने ताकाइचीले पनि आणविक हतियार प्रयोगविहीन विश्व निर्माणका लागि जापानले यथार्थवादी दृष्टिकोण अपनाउने बताउनुभयो ।
सन् १९४५ मा हिरोसिमामा खसालिएको आणविक बमबाट करिब एक लाख ४० हजार र तीन दिनपछि नागासाकीमा गरिएको आक्रमणबाट करिब ७० हजार मानिसको मृत्यु भएको थियो । अहिले दुवै सहरका जीवित पीडितको सङ्ख्या घटेर ९१ हजार १०५ पुगेको छ । उनीहरूले आणविक विनाशको वास्तविकता आगामी पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
