विराटनगर। मोरङको सुनवर्षी नगरपालिका–७ निवासी तल्लु टुडु दैनिक ज्यालादारी मजदुर हुन्। चार सन्तानका पिता टुडुको जीवन करिब एक वर्षअघि पेटसम्बन्धी रोगका कारण श्रीमतीको निधन भएपछि झनै कष्टकर बनेको थियो। परिवारको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा आएको थियो।
उनका २८ महिनाका कान्छा छोरा दिलखुस टुडु केही दिनदेखि लगातार ज्वरो र रुघाखोकीबाट बिरामी परे। उपचारका लागि जिल्ला अस्पताल रंगेली पुर्याइएका बालकको अवस्था गम्भीर देखिएपछि चिकित्सकले तत्काल विराटनगर रेफर गरेका थिए।
त्यसपछि टुडु छोरालाई लिएर कोशी अस्पताल पुगे। तर त्यहाँ आईसीयू बेड खाली नभएकाले अस्पताल चोकमा भेटिएका एक व्यक्तिले श्री अस्पतालमा आईसीयू बेड मिलाइदिने बताएपछि उनीहरू त्यहाँ पुगे। अस्पताल पुग्दासम्म बालक अचेत अवस्थामा थिए। श्री अस्पतालले तत्काल आईसीयूमा भर्ना गरी उपचार सुरु गर्यो।
तल्लु टुडु उपचार खर्च जुटाउने प्रयासमा थिए। तर अस्पतालले आर्थिक अवस्थालाई उपचारमा बाधक बन्न दिएन। निरन्तर उपचारपछि नौ दिनमै दिलखुसको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो। छोराको अवस्था सुधारिएसँगै बुबाको खुसी फर्कियो, तर उपचार खर्च कसरी तिर्ने भन्ने चिन्ता भने यथावत् थियो।
यसबीच अस्पतालमै रहेका टुडुको अवस्थाबारे जानकारी पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहकारी विभागका सदस्य वीरेन्द्रकुमार साह अस्पताल पुगे। उनले अस्पताल प्रशासन र सञ्चालकसँग छलफल गर्दै सरकारले विपन्न बिरामीका लागि उपलब्ध गराउने १० प्रतिशत छुटको व्यवस्थालाई आधार मानेर सकेसम्म सम्पूर्ण उपचार खर्चमा सहुलियत उपलब्ध गराइदिन आग्रह गरेका थिए।
अस्पताल प्रशासनले पनि टुडुको आर्थिक अवस्था बुझ्ने प्रयास गरेको थियो। वडा कार्यालयबाट आर्थिक अवस्था खुल्ने सिफारिस ल्याउन आग्रह गरिए पनि टुडुसँग नागरिकता नभएकाले आवश्यक सिफारिस पेश गर्न सकेनन्। त्यसपछि अस्पतालले मानवीय आधारमा अस्पतालतर्फको करिब ७० हजार रुपैयाँ र औषधिको २० हजार रुपैयाँ गरी झन्डै ९० हजार रुपैयाँ बराबरको सम्पूर्ण उपचार खर्च मिनाहा गरिदियो।
यति मात्र होइन, उपचारका क्रममा १० दिनसम्म अस्पतालले बिरामी बालक र उनका बुबाका लागि निःशुल्क खाना तथा बस्ने व्यवस्था समेत मिलाएको थियो। वीरेन्द्रकुमार साहकै पहल र समन्वयमा आइतबार बालक दिलखुसलाई एम्बुलेन्समार्फत सुरक्षित रूपमा घर पठाइएको छ।
घर फर्किने क्रममा भावुक बनेका तल्लु टुडुले अस्पतालले आफ्ना छोराको ज्यान बचाइदिएको गुन जीवनभर नबिर्सने बताए।
अस्पताल प्रशासनका अनुसार अस्पताल केवल व्यापार गर्ने संस्था मात्र नभई सेवामुखी संस्था पनि हो। “आज एक बालकको ज्यान बचाएर बुबाको हातमा सुरक्षित सुम्पिन पाउनु हाम्रो लागि करोडौं रुपैयाँ कमाएकोभन्दा ठूलो सन्तुष्टि हो,” अस्पताल प्रशासनले जनाएको छ।
विराटनगरका अस्पतालहरूमा नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत बिरामी उपचारका लागि आउने गर्छन्। उपचार खर्च अभावका कारण बिरामीले समस्या भोगिरहेका घटनाहरू सार्वजनिक भइरहेका बेला श्री अस्पतालले आर्थिक रूपमा विपन्न परिवारको झन्डै ९० हजार रुपैयाँ बराबरको उपचार खर्च मिनाहा गर्दै मानवता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
