विराटनगर | कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्व परिवर्तन गर्न नेकपा (एमाले) भित्र फेरि सक्रियता बढेको छ। यसअघि कार्कीलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन्।
पार्टी स्रोतका अनुसार ओलीले कोशी प्रदेशका इन्चार्ज तथा सचिव शेरधन राईलाई नेतृत्व परिवर्तनको जिम्मेवारी दिएका छन्। राईले विराटनगर पुगेर मुख्यमन्त्री कार्कीसँग करिब दुई घण्टा छलफल गर्दै पार्टी अध्यक्षको सन्देश सुनाएका थिए।
छलफलका क्रममा कार्कीलाई राजीनामा दिन आग्रह गरिएको बताइए पनि उनले त्यसमा सहमति जनाएनन्। धारा १६८ (५) अन्तर्गत आफू मुख्यमन्त्री बनेको उल्लेख गर्दै उनले अहिले राजीनामा दिए संवैधानिक जटिलता उत्पन्न हुन सक्ने र यसबारे पार्टी सचिवालयले औपचारिक निर्णय गर्नुपर्ने अडान राखेका छन्।
एमालेभित्र चलिरहेको पुनर्गठन अभियानमा कार्की सहभागी भएपछि उनलाई हटाउने तयारी तीव्र भएको स्रोतको दाबी छ। यसअघि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल परिवर्तन भइसकेका छन् भने लुम्बिनी र कोशीमा पनि नेतृत्व हेरफेरको चर्चा चलिरहेको छ।
यद्यपि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहित केही शीर्ष नेताहरूले राजनीतिक स्थायित्व र संवैधानिक अवस्थालाई ध्यानमा राख्दै हालका मुख्यमन्त्रीलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।
उच्च स्रोतका अनुसार मुख्यमन्त्री कार्कीले राजीनामा नदिए प्रदेशसभामा नयाँ समीकरण बनाउन आवश्यक बहुमत जुटाउने प्रयास पनि पार्टी नेतृत्वबाट भइरहेको बताइएको छ।
