सुनसरी–सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
आइतबार राति भएको झडपमा गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का ओमप्रकाश मेहताको मृत्यु भएको हो। घटनामा नौ जना सर्वसाधारण तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी घाइते भएका छन्।
स्थिति थप तनावग्रस्त हुन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सोमबार बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
प्रशासनका अनुसार कर्फ्यु हरिनगरा गाउँपालिकाका घुस्की, भुटाहा र कप्तानगञ्ज तथा देवानगञ्ज बजार र देवानगञ्ज गाउँपालिका–३ अन्तर्गतको क्षेत्रमा लागू गरिएको छ। कर्फ्यु अवधिमा ती क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न निषेध गरिएको छ। आदेश उल्लङ्घन गरेमा एक हजार रुपैयाँसम्म जरिवाना, एक महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने प्रशासनले जनाएको छ।
प्रहरीका अनुसार आइतबार राति करिब १०ः१५ बजे बोलबम यात्राका लागि कोशी ब्यारेजबाट जल लिएर हिन्दु धर्मावलम्बीहरू डिजेसहित कप्तानगञ्ज चोकतर्फ जाँदै थिए। डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले विरोध जनाएपछि सुरु भएको विवाद भनाभन, ठेलाठेल हुँदै झडपमा परिणत भएको थियो।
प्रहरी चौकी कप्तानगञ्जबाट प्रहरी निरीक्षक प्रकाशकुमार श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले दुवै पक्षलाई सम्झाउने प्रयास गरे पनि अवस्था नियन्त्रणमा आउन सकेन। त्यसपछि दुवै पक्षका थप व्यक्तिहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्रीसहित घटनास्थलमा पुगेपछि तनाव बढेको प्रहरीले जनाएको छ।
झडपका क्रममा इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की, साहेबगञ्ज तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। दुवै पक्षबाट ढुंगामुढा भएपछि इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राईसहित नेपाल प्रहरीका आठ जना कर्मचारी घाइते भएका छन्। प्रहरीका अनुसार अवस्था नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायरसमेत गरिएको थियो।
प्रारम्भिक विवरणअनुसार राति करिब १०ः४५ बजे घटनास्थलमा परिचालित सशस्त्र प्रहरीको टोलीबाट समेत गोली चलेको थियो। गोली चल्नुको कारण र कति राउन्ड गोली प्रहार भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताएका छन्।
गोली लागेर घाइते भएका ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो। घटनामा देवानगञ्ज–३ का २० वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भएका छन्। अन्य घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल र विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा नेपाल प्रहरीका आठ र सशस्त्र प्रहरीका पाँच गरी १३ जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरी निरीक्षक राकेश राईको टाउकोमा पाँच टाँका लगाइएको छ भने अन्य सुरक्षाकर्मीको अवस्था सामान्य रहेको बताइएको छ।
घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी विशेष सुरक्षा गण, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा आसपासका विभिन्न इलाका प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ। दुवै समुदायका व्यक्तिहरूलाई छुट्टाछुट्टै स्थानमा राखेर सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर थप जनधनको क्षति हुन नदिन सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
