विराटनगर — नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको तयारी तीव्र भएको छ । एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो नयाँ मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको एमाले स्रोतले जनाएको छ ।
केन्द्रीय सत्ता समीकरणअनुसार प्रदेश सरकारको नेतृत्व बाँडफाँटमा कोशी, बागमती र लुम्बिनी एमालेको भागमा परेको छ भने कर्णाली र सुदूरपश्चिममा नेपाली कम्युनिस्ट पार्टीले नेतृत्व गर्ने सहमति भएको बताइएको छ । यही सहमतिअनुसार कोशीमा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाएर मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको स्रोतको दाबी छ ।
बिज्ञापन
अन्तिम निर्णय आज आइतबारसम्ममा हुन सक्ने एमाले नेताहरूले बताएका छन् । काठमाडौंमा रहेका मेन्याङ्बोले आफू मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको बताएका छन् । ‘मेरो सम्भावना लगभग बलियो देखिएको छ । केन्द्रीय नेतृत्व पनि सकारात्मक देखिएकाले म ढुक्क छु,’ उनले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्राथमिकतामा कोशीको नेतृत्व परिवर्तन परेको एमाले स्रोतको दाबी छ । मुख्यमन्त्री कार्की र अध्यक्ष ओलीबीच पछिल्लो समय सम्बन्ध सहज नरहेको र त्यसको प्रभाव प्रदेश नेतृत्व परिवर्तनको निर्णयमा परेको एक प्रदेश सांसदले बताए ।
ताप्लेजुङ–१ (१) बाट प्रदेशसभा सदस्य निर्वाचित मेन्याङ्बो एमाले कोशी प्रदेश संसदीय दलका उपनेता हुन् । यसअघि कार्की नेतृत्वको प्रदेश सरकारमा उनले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । मन्त्रिपरिषद् पुनर्गठनका क्रममा उनले केही समय स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।
मेन्याङ्बो २०५६ सालमा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर राष्ट्रिय राजनीतिमा सक्रिय भएका थिए ।
यता, एमाले कोशीका प्रमुख सचेतक रमेश बस्नेतले भने मुख्यमन्त्री परिवर्तनबारे प्रदेश कमिटीमा औपचारिक छलफल नभएको बताएका छन् । उनले केन्द्रबाट निर्णय नभए वर्तमान मुख्यमन्त्री कार्कीलाई नै निरन्तरता दिने सम्भावना रहेको बताए ।
‘प्रदेशले निर्णय गर्दा कार्कीलाई नै निरन्तरता दिने सम्भावना छ । तर केन्द्रले निर्णय गर्यो भने नयाँ नेतृत्व आउने सम्भावना देखिन्छ,’ बस्नेतले भने ।