विराटनगर । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरले मोरङको रङ्गेली नगरपालिका ७ बाट १०१ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार भारतबाट नेपालमा लागू औषध बिक्रीवितरण गर्ने गिरोहको निगरानी गर्ने क्रममा साउन ६ गते विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रङ्गेलीमा बुझाइएको ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको अररिया जिल्ला, बोकाहा मझुरा गाउँका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुल रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट १०१ ग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेट बिआर ३८ ए एच ७१९३ र बिआर ३८ ए एयु ८२४३ भएका दुई वटा मोटरसाइकल तथा दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ।
लागू औषध नियन्त्रण ब्युरोले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
