विराटनगर– ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले संघीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नयाँदिल्लीस्थित जन्तरमन्तरमा प्रदर्शन जारी राखेको छ । नीट (NEET) मा कथित अनियमितताको विरोधमा सीजेपीले प्रदर्शन गरिरहेको हो ।
सीजेपीका प्रवक्ता आशुतोष रंकाका अनुसार संघीय मन्त्री जेपी नड्डाले बुधबार सीजेपीका सदस्यहरूसँग भेटवार्ता गर्ने सम्भावना छ । यस विषयमा प्रहरीले आफूहरूलाई सम्पर्क गरेको उनले बताए । जलवायु अभियन्ता सोनम वाङ्चुकसँग वार्ता गर्न केन्द्र सरकारले यसअघि नै संकेत गरिसकेको छ । वाङ्चुक २० दिनभन्दा बढी समयदेखि अनिश्चितकालीन अनशनमा छन् ।
सीजेपीका अनुसार बुधबार बिहानै हजारौँ प्रदर्शनकारी जन्तरमन्तरमा भेला भएका छन् । प्रवक्ता सौरव दासले प्रदर्शनस्थलमा बढ्दो भीडको दृश्य सार्वजनिक गरेका छन् । एएनआईसँग कुरा गर्दै प्रवक्ता आशुतोष रंकाले सरकार मागप्रति सहमत नभए ‘लाखौँ मानिस दिल्ली आउने’ दाबी गरे ।
यसैबीच, गृह मन्त्रालयले दिल्लीमा तत्काल २० अतिरिक्त केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) कम्पनी परिचालन गर्न आदेश दिएको छ । ती कम्पनीहरू पश्चिम बंगालबाट दिल्ली ल्याइँदै छन् ।
सीजेपीले संघीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रदर्शन जारी राखेपछि दिल्लीका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद् भवन र रफी मार्गलगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सोमबार भएको प्रदर्शनका क्रममा हिंसा र तोडफोड भएको आरोपमा हालसम्म कम्तीमा ६ वटा प्रथम सूचना प्रतिवेदन (एफआईआर) दर्ता गरिएको छ । प्रहरीले घटनामा ‘ठूलो आपराधिक षड्यन्त्र’ भएको हुनसक्ने कोणबाट समेत अनुसन्धान गर्ने सम्भावना रहेको पीटीआईले जनाएको छ ।
यसैबीच, विद्यार्थीमाथि प्रहरीले गरेको लाठीचार्ज र कांग्रेस नेताहरू राहुल गान्धी तथा प्रियंका गान्धीको गिरफ्तारीको विरोधमा केरल, जम्मु–कश्मीर र आसामलगायत देशका विभिन्न स्थानमा कांग्रेसका स्थानीय संगठनहरूले प्रदर्शन गरेका छन् । राहुल, प्रियंका र कांग्रेसका अन्य नेताहरूले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको निवासबाहिर प्रदर्शन गरेका थिए । समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई पनि प्रधानमन्त्री निवासबाहिर धर्ना दिएको आरोपमा हिरासतमा लिइएको थियो ।
‘चलो संसद्’ मार्चमा प्रहरी कारबाहीपछि कैयौँ प्रदर्शनकारी पक्राउ, घाइते
सोमबार भएको ‘चलो संसद्’ मार्चका क्रममा कम्तीमा ७० जना प्रदर्शनकारीलाई हिरासतमा लिइएको थियो । त्यसपछि सीजेपी, आम आदमी पार्टीलगायतका दल तथा संगठनहरूले पक्राउ परेका विद्यार्थी प्रदर्शनकारीलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने बताएका छन् ।
संसद् भवनतर्फको मार्चमा दशौँ हजार प्रदर्शनकारी सहभागी भएका थिए । दिल्ली प्रहरीले मार्चका लागि अनुमति दिएको थिएन र भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ लागू गरिएको थियो । प्रमुख सडकमा अवरोध, मेट्रो स्टेसन बन्द र मोबाइल इन्टरनेट सेवा अवरुद्ध गरिए पनि प्रदर्शनकारीहरू जन्तरमन्तरमा भेला भएर संसद् भवनतर्फ अघि बढेका थिए ।
सोमबार दिउँसो कन्नट प्लेस, पटेल चोक, रायसिना रोड, इन्डिया गेट र अशोका रोडलगायतका क्षेत्र तनावग्रस्त बनेका थिए । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको थियो । कैयौँ प्रदर्शनकारी घाइते भएर लेडी हार्डिङ र आरएमएल अस्पतालमा भर्ना भएका थिए । एक महिलाको आरएमएल अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो ।
दिल्ली प्रहरीले मार्चका क्रममा ११८ जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ । निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शनकारीले पटक–पटकको चेतावनी बेवास्ता गरी ढुंगा तथा अन्य वस्तुले सुरक्षाकर्मीमाथि आक्रमण गरेको प्रहरीको आरोप छ ।
कांग्रेसको प्रदर्शनप्रति धर्मेन्द्र प्रधानको प्रतिक्रिया
प्रधानमन्त्रीको निवासबाहिर कांग्रेसले गरेको प्रदर्शनप्रति संघीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आलोचना गरेका छन् । उनले कांग्रेसले संसद्को वर्षे अधिवेशनका क्रममा विद्यार्थीलाई ‘राजनीतिक औजार’ बनाएर अवरोध सिर्जना गर्न खोजेको आरोप लगाए ।
प्रधानले सामाजिक सञ्जाल एक्समा लेख्दै राहुल गान्धी र कांग्रेसले प्रधानमन्त्रीको निवासबाहिर धर्ना दिएर सर्वसाधारणलाई असुविधा पु¥याउनुका साथै स्थापित सुरक्षा प्रोटोकलको बेवास्ता गरेको आरोप लगाए ।
उनले कांग्रेसले लोकतान्त्रिक बहसको सट्टा ‘राजनीतिक प्रदर्शन’ रोजेको दाबी गर्दै सरकार संसद्मा नीट ल्भ्भ्त् सम्बन्धी विषयमा छलफल गर्न तयार रहेको बताए । ‘राहुल गान्धीका लागि यो विद्यार्थीको विषय होइन, छलफलका सबै वैधानिक बाटा खुलेपछि पनि हरेकपटक टकराव सिर्जना गर्ने विषय हो,’ उनले भने ।
सरकार ल्भ्भ्त् र युवाहरूका वास्तविक सरोकारबारे संसद्मा छलफल गर्न ‘शतप्रतिशत प्रतिबद्ध’ रहेको बताउँदै प्रधानले विद्यार्थीलाई राजनीतिक अभियानको ‘मोहरा’ बनाउनुभन्दा धेरै राम्रो व्यवहारको आवश्यकता रहेको बताए ।
