Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश विराटनगर

कोलकाता–विराटनगर कार्गो रेल सञ्चालनसँगै व्यापार सहजीकरणमा सुधारको माग

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०६, २०८३  | बिहान १०:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोलकाताबाट विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) सम्म प्रत्यक्ष बल्क तथा कन्टेनर कार्गो रेल सेवा औपचारिक रूपमा सञ्चालनमा आएपछि कोशी प्रदेशका उद्योगी–व्यवसायीले यसलाई व्यापार लागत घटाउने र औद्योगिक प्रतिस्पर्धात्मक क्षमता बढाउने महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनीहरूले कार्गो रेल सेवाको प्रभावकारी सञ्चालनसँगै आईसीपीको पूर्वाधार विस्तार, भन्सार सुधार र व्यापार सहजीकरणमा थप सुधार गर्न सरकारसँग माग गरेका छन् ।

विराटनगरस्थित आईसीपी परिसरमा आयोजित कोलकाता–विराटनगर प्रत्यक्ष कन्टेनर रेल सेवाको उद्घाटन कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले संघको झण्डै एक दशक लामो पहल र पैरवीपछि सेवा सञ्चालनमा आएको बताए । उनले यो सेवा मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगी–व्यवसायीका लागि लामो समयदेखिको सपना पूरा भएको बताए ।

बिज्ञापन

राठीका अनुसार संघले करिब एक दशकअघि भारतका बन्दरगाहबाट विराटनगर आईसीपी यार्डसम्म सोझै रेलमार्ग जोड्ने पूर्वाधार निर्माणको माग गर्दै आएको थियो । पूर्वाधार निर्माण सम्पन्न भई परीक्षणसमेत भए पनि तत्कालीन नेपाल–भारत व्यापार तथा पारवहन सन्धिमा रहेका नीतिगत व्यवस्थाका कारण सेवा नियमित हुन सकेको थिएन ।

साविकको व्यवस्थाअनुसार कोइला, क्लिंकर, मल र नुन गरी चार प्रकारका वस्तु मात्र बल्क रेलमार्फत विराटनगर ल्याउन पाउने प्रावधान थियो । त्यसपछि संघले व्यापार सन्धि संशोधनका लागि निरन्तर पैरवी गर्दै सबै प्रकारका औद्योगिक कच्चा पदार्थ बल्क तथा कन्टेनर कार्गोमार्फत विराटनगरसम्म ल्याउन पाउने व्यवस्था गर्न सरकारसमक्ष माग गर्दै आएको थियो । नीतिगत तथा कानुनी जटिलता हटेपछि अहिले कोलकाता–विराटनगर प्रत्यक्ष कार्गो रेल सेवा सञ्चालनमा आएको राठीले बताए ।

उनका अनुसार सडकमार्गको तुलनामा रेलमार्फत कच्चा पदार्थ तथा वस्तु ढुवानी गर्दा लागतमा ३५ देखि ४० प्रतिशतसम्म बचत हुनसक्छ । सडकमार्गबाट ५ देखि ७ दिन लाग्ने ढुवानी समय रेलमार्फत २४ देखि ७२ घण्टामा सीमित हुने अपेक्षा गरिएको छ । कन्टेनरमा जडित इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईसीटीएस)का कारण सामानको सुरक्षा बढ्ने, चोरी तथा क्षतिको जोखिम घट्ने र मोबाइलबाटै कार्गोको निगरानी गर्न सकिने उद्योगीहरूको भनाइ छ ।

कार्गो रेल सेवाले बन्दरगाहमा लाग्ने डेमुरेज तथा डिटेन्सन शुल्क घटाउनसमेत सहयोग पुग्ने उनीहरूले बताएका छन् । आगामी दिनमा कोशी प्रदेशका उत्पादन तेस्रो मुलुक तथा भारततर्फ निर्यात गर्नसमेत रेल सेवाले सहजता प्रदान गर्ने र सिपिङ कम्पनीले विराटनगरमै कार्यालय स्थापना गरी कन्टेनर उपलब्ध गराउन थाले नेपाली उद्योगको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढ्ने राठीले बताए ।

यता, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मंगलबार नै विराटनगरमा भारत र चीनसँगको अन्तर्राष्ट्रिय व्यापारमा कोशी प्रदेशको सम्भावना तथा आईसीपीको पूर्वाधार विकास र सुधारका क्षेत्रबारे अन्तरक्रिया आयोजना गरेको थियो । कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको भारतीय रेलकार्गो नेपालको भन्सार बिन्दुसम्म ल्याउने व्यवस्था कार्यान्वयनमा आएकोमा उद्योगी–व्यवसायी उत्साहित भएको बताए ।

रेलमार्फत ठूलो परिमाणमा सामान आउने भएकाले ढुवानी लागत घट्ने, सामान सुरक्षित हुने, भन्सार परिसरमै अनलोड गर्न सकिने र चोरीको सम्भावना न्यून हुने अपेक्षा गरिएको उनले बताए । तर, आईसीपीमा सामान व्यवस्थापनका लागि पर्याप्त गोदाम, क्रेन तथा अनलोडिङ उपकरण नहुँदा ढिलाइ भएर डेमुरेज शुल्क तिर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले पूर्वाधार विस्तारमा ध्यान दिन सरकारसँग आग्रह गरे ।

राउतले रेलकार्गोबाट ठूलो परिमाणमा सामान आउने भएकाले साना तथा मझौला व्यवसायीले समेत यसको सुविधा उपयोग गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने बताए । कोशी प्रदेश भारत, चीन, बंगलादेश र भुटानसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले यसलाई ट्रान्जिट हबका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

कोशी प्रदेशमा उत्पादन हुने चिया, अलैंची, अदुवा, बेसारलगायतका कृषि उत्पादनको निर्यात प्रवद्र्धनका लागि ‘एक्स्पोर्ट हाउस’ स्थापना गर्नुपर्ने, व्यापार सहजीकरणका लागि सरकारी निकायबीच समन्वय बढाउँदै एकलविन्दु सेवा उपलब्ध गराउनुपर्ने तथा भन्सार नाकामा प्रयोगशाला र आधुनिक प्रविधिको विकास गर्नुपर्ने माग पनि कार्यक्रममा उठाइएको थियो । बढ्दो व्यापार घाटा घटाउन आयात प्रतिस्थापन गर्ने र निर्यातमुखी उद्योग स्थापना गर्नेतर्फ सरकारले प्राथमिकता दिनुपर्ने व्यवसायीहरूले बताएका छन् ।

भन्सार सुधार तथा व्यापार सहजीकरण विज्ञ श्याम दाहालले नेपाल–भारत, नेपाल–चीन र नेपाल–बंगलादेशबीचका पारवहन तथा व्यापार सम्झौताका प्रावधानबारे जानकारी दिँदै व्यापार सहजीकरणका लागि भन्सार सुधार, गैरभन्सार अवरोध न्यूनीकरण, इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीमार्फत सुरक्षित ढुवानी र भन्सार बिन्दुका भौतिक पूर्वाधार सुधार आवश्यक रहेको बताए ।

पूर्वसहसचिव रविशंकर सैंजुले ईसीटीएसबाट लिन सकिने लाभ तथा नेपाल, भारत, बंगलादेश र चीनसँग भएका व्यापार तथा पारवहन सम्झौताका प्रावधानबारे जानकारी गराए । व्यापारबाट अधिकतम लाभ लिन व्यवसायी स्वयं पनि सम्झौता र कानुनी प्रावधानबारे जानकार हुनुपर्ने उनले बताए ।

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले भन्सारबाट प्रदान गरिने सेवामा व्यवसायीलाई झन्झट नदिई समयमै सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश उपाध्याय, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा र विराट व्यापार संघका उपाध्यक्ष भविष पौडेललगायतले कार्गो रेल सेवा, व्यापार सहजीकरण र निर्यात प्रवद्र्धनका लागि थप सुधार आवश्यक रहेको बताए ।

मोरङ उद्योग व्यापार संघले कार्गो रेल सेवा सञ्चालनमा ल्याउन नेपाल र भारत सरकारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सेवा निरन्तरता, थप सहजीकरण र व्यापार प्रवद्र्धनका लागि सरोकारवाला निकायसँग निरन्तर समन्वय गर्ने जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa