Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश विराटनगर

रानी–जोगबनी नाकामा कडाइ : पैदल यात्रुका लागि छुट्टै मार्ग, भन्सार छली नियन्त्रणमा सहजता

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन ०५, २०८३  | साँझ ५:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल–भारत सीमासँग जोडिएको विराटनगरको रानी–जोगबनी नाकामा सुरक्षा जाँचलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय मोरङले पैदल यात्रुका लागि छुट्टै मार्ग निर्माण गरेको छ। सीमाबाट हुने आवतजावतलाई व्यवस्थित बनाउँदै भन्सार छली नियन्त्रण र सुरक्षा जाँचलाई प्रभावकारी बनाउने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको हो ।

प्रशासनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने पैदल यात्रु र सवारीसाधनका लागि छुट्टाछुट्टै मार्ग बनाएपछि सुरक्षा जाँच प्रक्रिया सहज भएको छ। यसअघि सीमाबाट भित्रिने सामानको मुख्य जाँच ‘२ नम्बर ढाट’ क्षेत्रमा हुने गरेकोमा अब सीमामै प्रारम्भिक जाँच सुरु गरिएको छ ।

बिज्ञापन

भारतीय बजारमा नेपालभन्दा कम मूल्यमा घरायसी सामग्री पाइने भएकाले विराटनगर, इटहरी, धरानलगायतका क्षेत्रबाट दैनिक ठूलो संख्यामा सर्वसाधारण किनमेलका लागि जोगबनी जाने गरेका छन् । तर, उनीहरूले ल्याएको सामान व्यक्तिगत प्रयोजनका लागि हो वा व्यावसायिक प्रयोजनका लागि हो भन्ने छुट्याउन तथा भन्सार लाग्ने–नलाग्ने यकिन गर्न सुरक्षा निकायलाई विगतमा कठिनाइ हुँदै आएको थियो ।

सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार नयाँ व्यवस्थापछि यात्रु र सवारीसाधनको आवागमन थप व्यवस्थित भएको छ। यसले सुरक्षा जाँच छिटो, सहज र प्रभावकारी बनाउनुका साथै दैनिक किनमेल गरेर फर्किने सर्वसाधारण र व्यावसायिक रूपमा सामान ओसारपसार गर्ने व्यक्तिलाई छुट्याउन पनि सहयोग पुगेको छ ।

सीमा क्षेत्रमा लामो समयदेखि केरिङ (बोकेर सामान ओसार्ने व्यक्ति) मार्फत भन्सार छली गरी विभिन्न सामग्री नेपाल भित्र्याउने गतिविधि चुनौतीका रूपमा रहँदै आएको थियो। यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले पटक–पटक निगरानी र कारबाही गर्नुपर्ने अवस्था थियो । नयाँ ब्यारिकेटिङ र छुट्टै पैदल मार्ग निर्माणपछि यस्ता गतिविधि नियन्त्रण गर्न सहज भएको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

रानी नाकाको अर्को प्रमुख समस्या अत्यधिक भीड व्यवस्थापन हो। विशेषगरी बिहान र साँझको समयमा किनमेल गरेर फर्किने यात्रुको चाप बढ्दा सुरक्षा जाँचमा ढिलाइ हुने, लाइन व्यवस्थापनमा समस्या आउने र सुरक्षाकर्मीमाथि थप दबाब पर्ने गरेको छ । यसका साथै भन्सार छली, अवैध रूपमा सामान ओसारपसार, राजस्व चुहावट तथा सीमामा हुने अन्य अनियमित गतिविधि पनि प्रशासनका लागि चुनौती बन्दै आएका छन् । नयाँ सरकार गठनपछि सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको छ । त्यसको प्रभावस्वरूप भन्सार छली गरी सामान भित्र्याउने गतिविधिमा कमी आएको सुरक्षा निकायको दाबी छ।

प्रशासनले सुरु गरेको नयाँ व्यवस्थाले सीमामा हुने भीड नियन्त्रण, यात्रुको सहज आवतजावत, सुरक्षा जाँचको प्रभावकारिता वृद्धि र भन्सार छली नियन्त्रणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको छ । यद्यपि, बढ्दो यात्रु चापलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न थप पूर्वाधार, जनशक्ति र आधुनिक निगरानी प्रणालीको आवश्यकता भने अझै रहेको देखिन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa