विराटनगर– राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्दै मंगलबार प्रधानमन्त्री निवास बाहिर प्रदर्शनको नेतृत्व गरेका छन् ।
दिल्लीको ७, लोक कल्याण मार्गस्थित प्रधानमन्त्री निवास पुगेका राहुलले अघिल्लो दिन ककक्रोच जनता पार्टी ९सीजेपी० को संसद् मार्चका क्रममा प्रदर्शनकारीमाथि भएको प्रहरी कारबाहीको विरोध गर्दै प्रधानमन्त्री मोदी, शिक्षामन्त्री धर्मेन्द्र प्रधान र गृहमन्त्री अमित शाहको राजीनामा माग गरेका हुन् ।
राहुल गान्धीले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, “हिजो युवा विद्यार्थीमाथि भएको निर्मम कारबाहीबारे जवाफ माग्न हामी प्रधानमन्त्री मोदीको घरसम्म मार्च गरेर आएका छौं । सरकार न त कुनै जिम्मेवारी लिन चाहन्छ, न त यस विषयमा संसद्मा बहस गर्न चाहन्छ । भारतका युवाको भविष्य बर्बाद गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।”
राहुल गान्धीले अन्य कांग्रेस सांसदहरूसँगै प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरेका थिए । उनले प्रहरी कारबाहीमा घाइते भएका प्रदर्शनकारीलाई भेट्न नयाँ दिल्लीस्थित राम मनोहर लोहिया ९आरएमएल० अस्पताल पनि पुगेका थिए ।
यो घटना संसद्को वर्षे अधिवेशनको दोस्रो दिन भएको हो । अघिल्लो दिन सीजेपी समर्थकहरूले आयोजना गरेको ‘चलो संसद्’ मार्चका क्रममा दिल्ली प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका थिए ।
उक्त घटनापछि भारतको परीक्षा तथा शिक्षा प्रणालीमा देखिएका कथित अनियमितताका विषयलाई लिएर विपक्षी दल र सरकारबीच राजनीतिक विवाद चर्किएको छ । कांग्रेसले सरकारमाथि युवाको आवाज दबाएको आरोप लगाउँदै आएको छ भने सरकारले कानुन व्यवस्था कायम गर्न आवश्यक कदम चालिएको दाबी गरेको छ ।
