काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको परिवार कानुनी उपचारका लागि प्रहरीकहाँ पुगेका छन्। मृतकका परिवार काठमाडौं महानगरपालिका र त्यहाँ खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गराउन सोमबार बिहानै प्रहरी वृत्त कालिमाटी पुगेका हुन्।
कालिमाटी वृत्तका डीएसपी नरेशकुमार सिंहका अनुसार कुन मुद्दामा कसलाई प्रतिवादी बनाउने भन्ने विषयमा छलफल गर्न नेपालीको परिवार सुरुमा प्रहरी कार्यालय पुगेका थिए। पछि कानुन व्यवसायीहरूको सल्लाहबमोजिम ज्यानसम्बन्धी कसुरमा जाहेरी तयार पार्न उनीहरू लेखापढी व्यवसायीकहाँ गएका छन्।
प्रहरीले जाहेरी प्राप्त भएपछि मात्रै त्यसमा उल्लेखित बुँदा र कानुनी आधार हेरेर दर्ताको प्रक्रिया अगाडि बढ्ने जनाएको छ।
गत बिहीबार राहदानी विभागको ३ नम्बर गेटमा नेपालीले मोटरसाइकल पार्किङ गरेपछि महानगरका नगर प्रहरीले ह्वील लक लगाइदिएका थिए। त्यसपछि नगर प्रहरीसँग उनको विवाद भएको थियो। विवाद लगत्तै आक्रोश र तनावमा आएका गणेशले आफ्नै मोटरसाइकलको ट्यांकीबाट पेट्रोल निकालेर शरीरमा खन्याउँदै आगो लगाएका थिए, जसका कारण पछि उनको उपचारका क्रममा मृत्यु भएको थियो।


