काठमाडौं । कीर्तिपुरको सुकुमवासी होल्डिङ सेन्टरबाट पक्राउ परेका जेनजी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गैरकानूनी रूपमा नियन्त्रणमा लिएर कुटपिट गरेको दाबी गरेका छन्। प्रहरीको कुटपिटबाट घाइते भई त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका अन्सारीले एक वक्तव्य जारी गर्दै आफ्नो जीवन र स्वतन्त्रताको रक्षाका लागि अपील गरेका हुन्।
उनले संघीय संसदका सदस्यहरू, संसदीय मानव अधिकार समिति, नागरिक समाज, र अन्तर्राष्ट्रिय मानव अधिकार समुदायसँग सुरक्षाको सुनिश्चितताका लागि गुहार मागेका छन्।
बाढी पसेपछि कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरको अनुगमन गर्न पुगेका अन्सारीलाई गत शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो। अन्सारीका अनुसार उनलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन र कुनै पक्राउ पुर्जी समेत दिइएको छैन। नियन्त्रणमा लिने क्रममा प्रहरीले कुटपिट गर्दा उनी घाइते भएका हुन्। अन्सारीले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग आफूलाई पक्राउ गर्नुको कारण सार्वजनिक रूपमा स्पष्ट पार्न माग गरेका छन्। यद्यपि अन्सारीले लगाएका यी आरोपहरूका सम्बन्धमा नेपाल प्रहरी वा गृह मन्त्रालयले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
शनिबार पक्राउ परेका अन्य व्यक्तिहरू रिहा भइसके पनि अस्पतालमा उपचाररत अन्सारीलाई भने प्रहरीले निरन्तर निगरानीमा राखेको छ। अन्य जेनजी अभियन्ताहरूका अनुसार सादा पोसाकका प्रहरीले उनलाई रातभर घेरेका थिए भने बिहान प्रहरीहरू उनको बेडमै पुगेका थिए। अस्पतालबाट जबरजस्ती डिस्चार्ज गराएर उनलाई जिल्ला प्रशासन कार्यालय लैजाने र सार्वजनिक मुद्दा चलाउने तयारी भइरहेको बुझिएको छ। तर, अभियन्ता अन्सारीले भने राष्ट्रिय मानव अधिकार आयोगको रोहबरमा मात्र अस्पतालबाट प्रशासनमा उपस्थित हुने अडान लिएका छन्।
गैरकानूनी रूपमा पक्राउ गरी अभियन्तालाई दबाब दिइएको सूचना पाएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली वस्तुस्थिति बुझ्न र अन्सारीको अवस्था अनुगमन गर्न त्रिवि शिक्षण अस्पताल प्रस्थान गरिसकेको छ।


