काठमाडौं । मुगुका गणेश नेपालीको मृत्यु भएको तीन दिन बितिसक्दा पनि उनको शव अझै उठ्न सकेको छैन। मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको शव हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ।
नेपालीले गत बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। प्रारम्भिक जानकारीअनुसार मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा काठमाडौं महानगर प्रहरीसँग विवाद भएपछि उनले आत्मदाहको प्रयास गरेका थिए। घटनाअघि भएको विवादको भिडियो पनि सार्वजनिक भएको छ, जसमा महानगर प्रहरीसँग उनको भनाभन भएको देखिन्छ।
गम्भीर घाइते भएका नेपालीको भोलिपल्ट उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो। तर सरकार र पीडित परिवारबीच सहमति हुन नसक्दा उनको शव अझै जिम्मा लगाउन सकिएको छैन।
न्यायको माग गर्दै मृतकका बुबाआमा र दाजु मदन नेपाली काठमाडौंमा छन्। प्रशासन र परिवारबीच शनिबार रातिदेखि आइतबार बिहान करिब ७ बजेसम्म वार्ता भए पनि कुनै निष्कर्ष निस्कन सकेन।
प्रशासन स्रोतका अनुसार, “हिजो रातिदेखि आज बिहानसम्म सहमतिका लागि वार्ता भयो। तर विभिन्न विषयमा सहमति जुट्न नसकेपछि छलफल निष्कर्षविहीन रह्यो।”
यता मृतकका दाजु मदन नेपालीले आफूहरूलाई काठमाडौंको बबरमहलस्थित एक सरकारी भवनमा राखिएको र बाहिरका व्यक्तिसँग सम्पर्क गर्न नदिइएको बताएका छन्।
“हामीलाई बबरमहलमा राखिएको छ। बाहिर जान पनि दिइएको छैन। सुरक्षा घेरामा राखिएको छ। छलफल भइरहेको भनिएको छ,” उनले बताए।
पीडित परिवारका अनुसार आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आएका प्रतिनिधिले भेट गरे पनि कुनै सहमति हुन सकेको छैन। प्रशासनले भने वार्तालाई निरन्तरता दिइने जनाएको छ।
सरकार र पीडित परिवारबीच सहमति नजुटेकै कारण गणेश नेपालीको शव तीन दिनदेखि अस्पतालमै राखिएको छ।


