काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा पहाडी र तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यसअघि बिहीबार काठमाडौं उपत्यकामा परेको वर्षाका कारण डुबान भएर जनजीवन प्रभावित भएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा पहाडी भूभागका धेरै स्थानमा वर्षा भएको छ। सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा मापन गरिएको छ, जहाँ ९८ मिलिमिटर पानी परेको विभागको तथ्यांकमा उल्लेख छ।
विभागका अनुसार हाल कर्णाली प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको छ भने कर्णालीसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा पनि मध्यम वर्षा सुरु भएको छ।


