विराटनगर । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा द रेन्बो प्रि-स्कुल एन्ड डे-केयर सेन्टरमा अध्ययनरत साना बालबालिकासँग विशेष धान रोपाइ कार्यक्रम सम्पन्न गरिएको छ।
विराटनगर–८, मधुमारामा अवस्थित विद्यालय परिसरमा आयोजित कार्यक्रममा बालबालिकाले परम्परागत शैलीमा धान रोप्दै नेपाली कृषि संस्कृति, प्रकृतिप्रतिको माया र श्रमको महत्वबारे व्यवहारिक रूपमा सिक्ने अवसर पाएका थिए।
विद्यालयका अनुसार यस्ता गतिविधिले बालबालिकामा कृषि, वातावरण संरक्षण तथा नेपाली मौलिक संस्कृतिप्रति सम्मान र जागरूकता विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रममा सहभागी बालबालिकाले हिलोमा रमाउँदै धान रोपाइको अनुभव लिएका थिए भने शिक्षक तथा अभिभावकले पनि उनीहरूको उत्साहजनक सहभागिताको प्रशंसा गरेका थिए। विद्यालयले भविष्यमा पनि यस्ता सिर्जनात्मक तथा संस्कृतिमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


