काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफूहरू आगामी निर्वाचनमा पुनः प्रतिस्पर्धी शक्तिका रूपमा स्थापित हुने दाबी गरेको छ। यसपटकको निर्वाचन परिणामलाई अस्थायी भन्दै पार्टीले जनमत पुनः आफ्नो पक्षमा फर्काउने विश्वास व्यक्त गरेको हो।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलाल (शरद)ले आवधिक निर्वाचनमा हार व्यहोरे पनि त्यो स्थायी नभएको बताए। उनले सत्तारुढ दललाई लक्षित गर्दै भने, “हामी यो पटक तपाईंहरूसँग हारेका हौं, सधैंका लागि होइनौं। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौं। आज दायाँ आसनमा बस्नेहरूलाई भविष्यमा अन्य शक्ति पनि त्यहाँ पुग्न सक्छन् भन्ने हेक्का हुनुपर्छ।”
संसदमा दलहरूको सानो–ठूलो उपस्थिति निर्वाचनको परिणाम मात्र भएको उल्लेख गर्दै दुलालले नेकपा विचारमा आधारित राजनीतिक शक्ति भएको दाबी गरे। “हामी विचारका बीज हौं। विचार सही भए र समयअनुकूल विकास भए त्यसले समाजलाई प्रभाव पार्न सक्छ। एउटा सानो झिल्कोले पनि सिंगो जंगल सखाप पार्न सक्छ,” उनले भने।
नेपालका प्रगतिशील, लोकतान्त्रिक तथा वामपन्थी जनमतको विश्वास पुनः जित्दै देशको नेतृत्व गर्ने लक्ष्य कायमै रहेको उनको भनाइ थियो। उनले पार्टी नवीन विचार, नेतृत्व र पहलकदमीका साथ एकताबद्ध भएर अघि बढ्ने तथा स्वच्छ र स्वस्थ राजनीतिक प्रतिस्पर्धामार्फत राष्ट्र निर्माणमा योगदान दिने बताए।
दुलालले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट पारित दस्तावेजप्रति पनि टिप्पणी गरे। उक्त दस्तावेजमा “लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध” आएको दाबी गर्दै उनले गणतान्त्रिक व्यवस्थाप्रति कुनै पनि प्रकारको चुनौतीप्रति आफ्नो पार्टी गम्भीर र सचेत रहेको बताए।
यद्यपि उनले रास्वपाको पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्व तथा केन्द्रीय समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे।


