नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि पहाडी जिल्लामा अधिकतम ३० करोड रुपैयाँ र तराईका जिल्लामा अधिकतम २५ करोड रुपैयाँ लागतसम्मका मात्र बहुवर्षीय योजना सञ्चालन गर्ने घोषणा गरेको छ।
प्रदेश सभामा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले स्रोत र साधनको प्रभावकारी परिचालन तथा आयोजना व्यवस्थापनलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गरिएको जानकारी दिए।
मन्त्री लिङ्थेपका अनुसार हालसम्म सम्पन्न हुन नसकेका तथा निर्माणाधीन आयोजनाहरूलाई आवश्यक स्रोत सुनिश्चित गरी समयमै सम्पन्न गर्ने व्यवस्था मिलाइनेछ। अधुरा योजनालाई प्राथमिकतामा राख्दै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको उनले बताए।
बजेट कार्यान्वयनमा वित्तीय सुशासन कायम गर्न विशेष ध्यान दिइने तथा चालु खर्चलाई मितव्ययी र नतिजामुखी बनाइने मन्त्री लिङ्थेपले उल्लेख गरे। सीमित स्रोतलाई उत्पादनशील तथा विकासमुखी क्षेत्रमा केन्द्रित गर्दै प्रदेशको आर्थिक विकासलाई गति दिने उद्देश्य बजेटले लिएको छ।
