विराटनगर । नेपाली कांग्रेसको इतर समूहले आइतबार विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टीभित्र एकता, सहमति र मेलमिलापको आवश्यकता औंल्याएको छ। भेलामा सहभागी अधिकांश नेताहरूले कांग्रेस विभाजनको जोखिमबाट जोगिन नेतृत्व तहले उदारता र समन्वयको राजनीति अपनाउनुपर्नेमा जोड दिएका छन्।
कोशी प्रदेश समितिको आयोजनामा भएको भनिएको कार्यक्रममा प्रदेश सभाका सदस्य, पूर्व केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा विभिन्न जिल्लाका नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता प्रदेश महामन्त्री भूपेन्द्र राईले गरेका थिए।
भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको स्थापना लोकतन्त्रको रक्षा र निरंकुशताको अन्त्यका लागि भएको स्मरण गराउँदै अहिले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको आरोप लगाए। उनले क्रियाशील सदस्यता नवीकरणलगायत विषयमा स्थानीय तहका नेतृत्वमाथि दबाब र कारबाहीको वातावरण सिर्जना गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले कांग्रेसभित्र सहमति, सहकार्य र एकताको आवश्यकता पहिलेभन्दा अझ बढी रहेको उल्लेख गर्दै पार्टी कमजोर हुँदा देशको लोकतान्त्रिक आधारसमेत कमजोर हुने धारणा राखे। कोइरालाले पार्टी फुट्न नदिने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै वर्तमान राजनीतिक चुनौतीको सामना गर्न कांग्रेस एकढिक्का हुनुपर्ने बताए।
पूर्व उपसभापति विजयकुमार गच्छदारले विराटनगरलाई बीपी कोइरालाको राजनीतिक भूमि भन्दै यहीँबाट एकताको सन्देश प्रवाह हुनुपर्ने बताए। उनले नयाँ र पुराना पुस्ताबीचको दूरी अन्त्य गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरे।
गच्छदारले डा. शेखर कोइराला र डा. शशांक कोइरालालाई व्यक्तिगत अहम् त्याग्न तथा महामन्त्री गगन थापालाई उदार र समावेशी नेतृत्व प्रदर्शन गर्न सुझाव दिए। उनले कांग्रेसभित्र डर, त्रास र अविश्वासको वातावरण अन्त्य गर्नुपर्ने उल्लेख गर्दै पार्टीको इतिहास, संस्कार र त्यागको मूल्यलाई आत्मसात् गर्न नेतृत्वलाई आग्रह गरे।
पूर्व महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस कमजोर अवस्थामा पुगेको भन्दै पार्टीलाई पुनः एकताबद्ध बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। उनले कांग्रेसलाई बलियो बनाउन आन्तरिक विभाजन अन्त्य गरी साझा लक्ष्यसहित अघि बढ्नुपर्नेमा जोड दिए।
पूर्व महामन्त्री डा. मिनेन्द्र रिजालले पनि कांग्रेस अहिले इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको टिप्पणी गर्दै ‘मलाई नेतृत्व दिनुस्, सबै ठीक हुन्छ’ भन्ने सोच अब पर्याप्त नभएको बताए। उनले १५औँ महाधिवेशनलाई पार्टी एकताको आधार बनाउँदै देशभर आशा र विश्वासको सन्देश फैलाउनुपर्ने सुझाव दिए।
पूर्व केन्द्रीय सदस्य सरिता प्रसाईंले भेला पार्टी विभाजनका लागि नभई एकताको सन्देश दिन आयोजना गरिएको स्पष्ट पारिन्। कांग्रेस नेता मोहन बस्नेतले पार्टी संगठन कमजोर बन्दै गएको भन्दै नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाए।
नेता एनपी साउदले कांग्रेसलाई पुनः बलियो बनाउन वृहत् एकताको विकल्प नभएको जिकिर गरे। उनले पद र अवसरभन्दा माथि उठेर पार्टीको भविष्यका लागि सबै पक्षलाई एकै ठाउँमा ल्याउनुपर्ने बताए। डर, दबाब र शक्ति प्रदर्शनबाट पार्टी सञ्चालन गर्न खोजिए कांग्रेस झन् कमजोर बन्ने चेतावनी पनि उनले दिए।
केन्द्रीय सदस्य मीन विश्वकर्माले कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने धारणा राख्दै पार्टीभित्रको संवाद र एकतालाई प्राथमिकता दिनुपर्ने बताए। नेता उमेशजंग रायमाझीले नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता औंल्याउँदै आगामी महाधिवेशनमा सबै पक्षलाई समेट्ने नेतृत्व आवश्यक रहेको बताए।
रामहरि खतिवडाले कांग्रेसभित्र नयाँ र पुरानो भनेर विभाजन गर्न नहुने धारणा राख्दै आगामी महाधिवेशनबाट पार्टीले स्पष्ट राजनीतिक निकास खोज्नुपर्ने बताए।
पूर्व केन्द्रीय सदस्य भीम पराजुली, गुरु बराल तथा केन्द्रीय सदस्य आनन्द सन्तोषी राईलगायत वक्ताहरूले पनि कांग्रेसभित्र व्यापक एकता कायम गर्नुपर्नेमा जोड दिएका थिए।
भेलामा प्रदेश सभा सदस्य केदार कार्की, भूमि राजवंशी, रामकुमार खत्री, भूपेन्द्र राई, खगेश्वरी पौडेललगायत नेताहरूको सहभागिता रहेको थियो। अधिकांश वक्ताहरूले बीपी कोइरालाको राजनीतिक विरासत स्मरण गर्दै कांग्रेसभित्रको मतभेद संवादबाट समाधान गरी एकताबद्ध रूपमा अघि बढ्न नेतृत्वलाई आग्रह गरेका थिए।
